१५ बैशाख २०८१, शनिबार

भारतीय खाेप काेभिशिल्डकाे नेपालमा कालाेबजारी शुरु


काठमाडौँ । कोरोना सङ्क्रमणको बढ्दो महामारीपछि भारतबाट पहिलो पटक नेपालमा लाउनका लागि ल्याइएको कोरोना विरुद्धको खोप हो कोभिशिल्ड । अहिले पहिलो डोज सो खोप लगाएका नागरिकले लामो समय बित्दा पनि दोस्रो डोज लगाउन पाएका छैनन् । करिब १३ लाख पहिलो डोज कोभिशिल्ड लगाएकाहरू अहिले पनि दोस्रो मात्राको प्रतीक्षामा छन् ।

भारत सरकारलाई कोभिशिल्ड विदेशमा निर्यात गर्न त्यहाँको अदालतले रोक लगाएपछि भारतका अन्य छिमेकी मुलुक जस्तै नेपाल पनि अप्ठ्यारोमा पर्दै आइरहेको छ । यही अप्ठ्यारो समयको फाइदा उठाउँदै कालोबजारी गर्नेहरू भने कमाऊ धन्दामा लागेका छन् । केही समय अघि देखि नै अर्थात् कोभिशिल्डको नेपालमा अभाव भए देखि नै चर्को मूल्य लिएर भ्याक्सिन लगाइदिने सुनिँदै आइएको थियो । यो कार्यमा संस्थागत रूपमा औषधी आयात गर्ने व्यवसायी र स्वास्थ्यकर्मीहरू संलग्न रहेको चर्चा हुँदै आइरहेको थियो ।

यही क्रममा दोस्रो डोज लगाउन प्रतीक्षारत केही व्यक्तिहरू काठमाडौँको बानेश्वरमा रहेको बरदान फर्टिलिटी सेन्टरमा खोप लगाइरहेको सूचना पाएपछि दोस्रो डोज लगाउन पुगेका थिए । उनीहरूबाटै प्राप्त सूचना संचारकर्मीसम्म आइपुगेपछि त्यसलाई पछ्याएको हो । पटक पटक गरी धेरै व्यक्तिलाई पैसा लिएर कोभिशिल्ड भ्याक्सिनको दोस्रो डोज लगाइदिएको सो सेन्टरले बुधवार मात्रै ११ जनालाई भ्याक्सिन लगाउने क्यूमा राखेको थियो । सोही सिलसिलामा ६ जनालाई लगाइसकेको र अन्य ५ जना बाँकी रहेको सूचना संचारकर्मीले पाएपछि ग्राहक बनेर सो सेन्टरमा सम्पर्क गरिएको थियो ।

फर्टिलिटी सेन्टरका एक जना कर्मचारीले ३५ सय रुपैयाँ प्रति डोज लिएर लगाउने गरेको बताए । उनका अनुसार भारतबाट आजै हवाई उडानमार्फत सो खोप ल्याइएको हो । यसरी भारतबाट भ्याक्सिन ल्याउँदा विभिन्न किसिमका औषधीको ग्रुपमा मिक्स गरेर ल्याइने गरेको ती व्यक्तिले जानकारी दिएका हुन् ।

भारतबाट खोप निकासी गर्ने र व्यक्तिगत हैसियतमा नेपालमा खोप ल्याउने कार्य अवैध होइन र ? भन्ने जिज्ञासामा ती कर्मचारीले वैध रूपमा ल्याउन नपाइएकै कारण भारतबाट ब्ल्याकमा किनेर लुकाई छिपाइ ल्याइएको स्वीकार गरे । ती कर्मचारीका अनुसार आज लगाउनका लागि ल्याइएको सो खोप सेन्टरकी सञ्चालिका डा. सविना सिम्खडाको परिवारलाई लगाउनका लागि ल्याएको बताए पनि घटनाले परिवारका लागि मात्रै ल्याएको भन्ने नदेखिएको हो ।

यसअघि पनि पटक पटक सो सेन्टरमा विभिन्न व्यक्तिलाई दोस्रो डोज लगाएको ती कर्मचारीले स्वीकारेबाट समेत परिवारलाई मात्रै नलगाएको कुरा पुष्टि भएको छ । आजै मात्रै ३५ रुपैयाँ लिएर ६ जनालाई लगाएको र संचारकर्मी टिमलाई पनि ग्राहककै रूपमा ३५ सय लिएर लगाइ दिने भनेबाट सो सेन्टरबाट कोभिशिल्डको कालोबजारी हुने गरेको पुष्टि भएको हो ।

फर्टिलिटी सेन्टरका ती कर्मचारीले आफ्नो सेन्टरमा सस्तोमा लगाइदिने गरिएको भए पनि अन्यत्र भने आठ दश हजारसम्म लिने गरेको खुलासा गरे । तर कहाँ कहाँ लगाइन्छ भन्ने बारेको जिज्ञासामा भने उनी खुल्न चाहेनन् । सो सन्दर्भमा डा. सिम्खडासँग सम्पर्क गर्न खोज्दा उनीसँग भने सम्पर्क हुन सकेन ।

यो घटनासँगै देशका विभिन्न क्षेत्रमा कोभिशिल्डको कालोबजारी बढ्दो अवस्थामा रहेको प्रस्ट भएको छ । सो सन्दर्भमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले अनधिकृत रूपमा खोपको कालोबजारी गरेको पाइए स्थानीय प्रशासनमार्फत कारबाहीको दायरामा ल्याइने बताए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निजी निकायलाई खोपको विक्री गर्न अनुमति नभएको भन्दै अनधिकृत रूपमा लगाइएको पाइए कारबाहीको प्रक्रिया तत्काल अघि बढाइने जानकारी दिए ।

पहिलो डोज कोभिशिल्ड लगाएका नागरिकले दोस्रो डोज लगाउन नपाएपछि कोभ्याक्स कार्यक्रम अन्तर्गत जापान सरकारले दिने एक्स्ट्राजेनेका खोप लगाउने सरकारको तयारी छ । सो खोप भदौबाट लगाइने सरकारको तयारी छ । हाम्राकुरा

धेरै कमेन्ट गरिएका

ताजा उपडेट