१५ बैशाख २०८१, शनिबार

सांस्कृति

सांस्कृतिक एकताको प्रतीक बन्दै छठ

-धर्मेन्द्र झा  पुर्व अध्यक्ष नेपाल पत्रकार महासंघ
-धर्मेन्द्र झा
पुर्व अध्यक्ष नेपाल पत्रकार महासंघ

नेपालमा त्यस्ता थुप्रै सांस्कृतिक अवयव छन् जसले देशलाई एकताको सूत्रमा आवद्ध गर्न मद्दत मात्र पुर्याउँदैन समग्र राष्ट्रियता प्रवद्र्धनमा पनि निर्णायक भूमिका निर्वाह गर्न सक्छ÷गर्दछ । त्यस्तै एउटा प्रतीक हो महपर्व छठ ।

प्रत्येक वर्ष शुक्ल षष्ठी (प्रदोस षष्ठी)को साँझ र सप्तमीको विहान सूर्यलाई अघर््य दिई मनाइने यो पर्व चार दिने अनुष्ठान हो । सदा झै यस वर्ष पनि यो पर्व प्रारम्भ भइसकेको छ । शुक्रवार नुहाइ धुवाई अर्थात् शुद्ध हुने क्रमबाट प्रारम्भ भएको यो पर्वअन्तर्गत पर्वको आइतवार मुख्य अनुष्ठानको आयोजना हुँदैछ । पर्वअन्तर्गत शनिवार खरना अर्थात् व्रतालुद्वारा व्रतको प्रारम्भ भयो । सोमवार सूर्यदेवलाई विहानको अघर््य अर्पण गर्दे पारनको आयोजनापश्चात पर्व समापन हुनेछ ।

महपर्व छठ पछिल्लो कालखण्डमा एउटा भूगोलमा मात्र सीमित नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको भइसकेको छ । पछिल्लो दिनमा आफ्नो महत्ताका करण यो पर्व विश्वका ती सबै क्षेत्रमा विस्तारित भइरहेको छ । यस अर्थमा आजको सन्दर्भमा यो पर्व अमेरिका, वेलायत, युरोपका विभिन्न देशमा समेत मनाउने गरिएको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने यो पर्व आज एउटा खास भूगोलमा मात्र सीमित रहेको पाइँदैन । विगतमा विभिन्न दायित्व, पेशा, रोजगारीका सन्दर्भमा देशका विभिन्न ठाउँमा पुगेका मैथिली÷भोजपुरीभाषीले आफ्नो सुविधाअनुकूल त्यहीँ यो पर्व मनाउने थाले र यो पर्वलाई राष्ट्रिय महत्वको बनाउन भूमिका निर्वाह गरे । पछिल्लो दिनमा यो पर्व, पूर्वी पहाडको पाँचथर, ताप्लेजुंगदेखि पश्चिमको दार्चुला र डोटीलगायतका स्थानमा समेत मनाउने गरिएको पाइएको छ ।

देशको राजधानी काठमाडौलगायत उपत्यकाका विभिन्न तलाउ—पोखरीमा भव्यतापूर्वक मनाउन थालिएको निकै वर्ष भइसक्यो । २०२०—३०को दशकतिर उपत्यकाको कीतिपुर, वल्खु, कालिमाटी, कुलेश्वर क्षेत्रमा सामान्य ढंगले मनाउने गरिएको यो पर्व पछिल्ला वर्षमा पुरै उपत्यकामा विस्तार हुन पुगेबाट यो पर्वप्रतिको स्वीकृति र यसको सांस्कृतिक एकीकरणको क्षमता स्वतः स्पष्ट हुन आउँछ । र, यसै आधारमा पछिल्लो समयमा यो पर्व राष्ट्रिय एकता निर्माणको एक महत्वपूर्ण प्रतीक बन्न पुगेको छ भन्दा असान्दर्भिक हुँदैन ।

यहाँ सन्दर्भ छठको छ, यसैमा केन्द्रित हुनु उचित हुन्छ । मूलतः यो पर्व सूर्योपासनासँग सम्बन्धित छ । यस पर्वमा सूर्यको उपासना गरी तिनैको पूजा अर्चना गर्ने गरिन्छ । शास्त्रीय मान्यताअनुसार यो पर्व कात्र्तिक शुक्ल षष्ठीको तिथिमा मनाइन्छ । यसलाई प्रदोश षष्ठी पनि भनिन्छ । यो पर्व कहिलेदेखि मनाउन सुरु गरियो त्यसको यकिन गर्न सकिएको छैन । व्यवहारमा मैथिल सभ्यताको प्रारम्भसँगै यो पर्व प्रचलनमा रहेको विश्वास गरिन्छ ।

यो पर्वको उपासना विधिको विश्लेषण गर्दै गएका खण्डमा यो पर्व मूलतः प्रकृतिपूजनसँग सम्बन्धित रहेको पाउन सकिन्छ । यो पर्व जलाशाय, नदी, पोखरी, ताल तलैयालगायतका जलस्रोत क्षेत्रमा उपस्थित भई सूर्यको उपासना गरी मनाइन्छ । पर्व मनाउने क्रममा जलस्रोत र सम्बन्धित क्षेत्रको शुद्धता र सफाईमा विशेष ध्यान दिइन्छ । यो शुद्धता र सफाईको कार्यले जल जीवनदायिनी हो र यसको संरक्षण र शुद्धता सृष्टिको कल्याणका लागि अपरिहार्य छ भन्ने सन्देश दिन्छ । यस पर्वमा चढाइने वस्तुहरु पनि प्रकृतिमै आधारित छन् । जस्तै उखु, वोटसमेतको वेसार र त्यसबेला उपलब्ध अन्य कृषि—खाद्य सामग्री । यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै सिकाउँछ ।

यसैगरी यो पर्वको केन्द्रीय पूजनीय तत्व हो सूर्य । सूर्यलाई शक्ति मानिन्छ । यस आधारमा यो पर्व शक्ति पर्व पनि हो । सूर्य ऊर्जाकेन्दै हो । यसै ऊर्जाले प्रकृति—सृष्टि संचालित छ । ऊर्जाको अनुपस्थितिमा जीवन संचालन हुनै सक्दैन । यस आधारमा सूर्यप्रति अनुग्रहित हुने पर्वका रुपमा पनि छठ पर्वको महत्व छ । मूलतः नेपालको मध्य तथा पुर्वी तराई—मधेशमा हर्षोल्लास र बडो श्रद्धापूर्वक मनाइने महापर्व छठ उदाउँदो र अस्ताउँदो सूर्यको उपासना गरी मनाइने गरिन्छ ।

यो पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्ममूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ्य भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ । यो पर्वलाई स्वास्थ्य, निरोगिता र सन्तानप्राप्ति र कल्याण तथा परिवारको उन्नति र रक्षाको पर्वमा श्रद्धापूर्वक मनाइन्छ ।

माथि चर्चा गरिसकियो, यो पर्वले विस्तारै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गरिरहेको छ । छठ पूजाघाटको उपस्थिति विश्लेषणले पनि यो पुष्टि गर्दछ । सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन त्यसरी नै छठ पर्वले पनि कसैलाई भेदभाव गर्दैन । पूजा र उपासनामा कसैलाई निषेध गर्दैन ।

छठ घाटमा मधेशीमात्र उपस्थित हुँदैनन । हिन्दूमात्र पनि उपस्थित हुँदैनन । सम्पन्न, धनी र हुनेखानेमात्र सहभागी हुँदैनन । जातपातका आधारमा छुवाछुत देखिँदैन । छठ पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन । सबैले आत्मसम्मान र प्रतिष्ठासहित जीवनयापन गर्न सकून, छठ पर्वको सन्देश विश्लेषण गर्ने हो भने पनि सारमा यही कुरा बुझ्न सकिन्छ—सर्वजन हिताय सर्वजन सुखाय । जहाँ आस्था हुन्छ त्यहाँ विश्वास हुन्छ । संशय र आशंका हुँदैन । छठका सन्दर्भमा यो दृष्टिकोण स्पष्टतः दृष्टिगोचर हुन्छ ।   – बिकास टाइम्स

 

Subodh Regmi २१ कार्तिक २०७३, आईतवार ०४:४३

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस