१५ बैशाख २०८१, शनिबार

विद्युत् आयात सम्झौता नवीकरण गर्न भारत सकारात्मक, आयात अवरुद्ध नहुने अपेक्षा

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भारतका ऊर्जासचिव पंकज अग्रवाललाई फोन गरी विद्युत् आयातसम्बन्धी सम्झौता चाँडै नवीकरण गरिदिन अनुरोध गरेका छन् ।
दुई सचिवबीच मंगलवार भएको वार्ता सकारात्मक भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले संचारमाध्यमलाई बताए ।

नेपालले भारतसँग भएको विद्युत् आयातसम्बन्धी सम्झौताअन्तर्गत रहेर प्रतिस्पर्धी बजारबाट बिजुली आयात गरिरहेको छ । खासगरी हिउँदा र सुख्खा बेलामा भारतबाट करिब ४० प्रतिशत विद्युत आयात गरी प्राधिकरणले आपूर्ति गर्दै आएको छ ।

हाल नेपालमा करिब १५ सय मेगावाट विद्युत् आपूर्ति भइरहेकोमा त्यसको करिब ४६ प्रतिशत भारतमा आयात हुने गरेको नेपाल विद्युत् प्राधिकरणको मंगलवारको तथ्यांक छ ।

नेपालले भारतको इनर्जी एक्सचेञ्ज लिमिटेडसँगको सम्झौताअनुसार त्यहाँको खुलाबजारमा ऊर्जा किनबेच गर्दै आएको छ । नेपालमा आयात हुने अधिकांश ऊर्जा भारतको इनर्जी एक्सचेञ्ज मार्केटमार्फत नै हुने गर्छ ।

नेपालले भारतसँग पाँच वर्षका लागि सम्झौता गरेर विद्युत आयात गरिरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । ‘तर, यो सम्झौता पनि एक एक वर्षमा नवीकरण हुनुपर्छ,’ उनले भने ।

मार्च महिनाको अन्तिम दिन अर्थात् आइतवार यसको म्याद सकिँदै छ । तर, त्यस अवधिसम्म भारतले सम्झौता नवीकरणको अनुमति दिने अपेक्षा रहेको उनले बताए । ‘गत वर्ष पनि ३१ मार्चकै दिन सम्झौता नवीकरण भएको थियोे । यसपटक पनि त्यहीअनुसार होला भन्ने अपेक्षा गरेका छौं,’ उनले भने ।

ऊर्जा मन्त्रालयका प्रवक्ता सिंहले पनि म्यादभित्रै सम्झौता नवीकरणका हुने अपेक्षा रहेको बताए । नेपालका तर्फबाट यस सम्बन्धी दस्तावेज पहिल्यै पठाइसकिएको पनि सिंहले बताए ।

भारतमा पनि यस सम्बन्धी फाइल तयार भएर बसेको र अनुमतिको निर्णय मात्रै हुन बाँकी रहेको जानकारी आफूले प्राप्त गरेको प्राधिकरण स्रोतले जनाएको छ ।

‘हाम्रो सचिवज्यूले यो सम्झौता नवीकरणको प्रक्रियालाई छिटो बनाइदिन भारतीय ऊर्जा सचिवलाई अनुरोध गर्नुभएको छ,’ सिंहले भने, ‘भारतका सचिव अग्रवालले पनि यस विषयमा त्यहाँका ऊर्जा मन्त्री आरके सिंहसँग यो विषयमा छलफल गरेर चाँडै निकास निकाल्ने आश्वासन दिनु भएको छ ।’

भारतमा निर्वाचन आउँदै गरेकाले त्यससम्बन्धी काममा व्यस्त हुनुपर्दा सम्झौता नवीकरणको स्वीकृतिमा ढिलाइ भएको जानकारी भारतीय सचिवले दिएको प्रवक्ता सिंहले जानकारी दिए । ‘नेपालसँगको मात्रै होइन, बंगलादेशसँगको सम्झौता नवीकरणमा पनि ढिलाइ भएको जानकारी उहाँहरुले दिनुभएको छ, तर यसमा चाँडै निष्कर्ष निस्कने पनि बताउनुभएको छ,’ प्रवक्ता सिंहले भने ।

विद्युत् आपूर्ति कम हुँदा नेपाल विद्युत् प्राधिकरणले अहिले पनि औद्योगिक क्षेत्रमा दैनिक ८–१० घन्टा लोडसेडिङ गरिरहेको छ । भारतसँगको विद्युत् आयात सम्झौता नवीकरण नभएको खण्डमा सम्पूर्ण मुलुक लोडसेडिङमा जानसक्ने डर पैदा भएको छ ।
बर्षाको बेला नेपालमा विद्युत् उत्पादन मागभन्दा धेरै भए पनि हिउँदमा भने माग पूरा गर्न भारतबाट आयात गर्नुको विकल्प छैन ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले नेपालमा विद्युतको पिक माग १८ सय ८५ मेगावाट छ । तर, हाल मुलुकको उत्पादन र आयातसमेत गरी जम्मा १४ सय ८३ मेवागाट विद्युत मात्रै आपूर्ति भइरहेको प्राधिकरणको तथ्यांक छ । त्यसमध्ये ६ सय ८१ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ ।

नेपालले भारतीय एक्सचेञ्ज बजारका अतिरिक्त बिहार र उत्तर प्रदेश सरकारसँग छुट्टै सम्झौता गरेर पनि विद्युत आयात गर्छ । एक्सचेञ्ज बजारमा आयात हुने विद्युत्को दर हरेक दिन परिवर्तन हुन्छ । तर, छुट्टै सम्झौतामार्फत आयात हुने विद्युतको दर भने स्थिर हुन्छ ।

नेपालले १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ६ रुपैयाँ १८ पैसा भारुमा विद्युत् आयात गरिरहेको छ भने ३३ केभीको प्रसारण लाइनबाट ६.६५ भारुमा विद्युत आयात गरिरहेको छ । तर, सानो प्रसारण लाइनबाट थोरै मात्रै विद्युत आयात गर्न सकिने हुँदा सीमावर्ती सहरहरुमा मात्रै त्यसको आपूर्ति गर्न सकिने प्राधिकरण स्रोत बताउँछ ।
खुलाबजारमा भने अधिकतम १२ भारुसम्म रकम तिरेर विद्युत् आयात गर्नुपर्ने हुन्छ ।
भारतले महाकाली सन्धिअन्तर्गत टनकपुरबाट बिजुली ल्याउन पाउने सम्झौता छ । त्यहाँबाट १५ मेगावाट विद्युत आयात गर्न सक्ने भए पनि दुई वर्षदेखि भारतले त्यस बाटोबाट आपूर्ति बन्द गरेको छ । अनलाइन खबर

धेरै कमेन्ट गरिएका

ताजा उपडेट