१४ बैशाख २०८१, शुक्रबार

सूचना नदिने चार सार्वजनिक निकायका प्रमुखलाई कारबाही

काठमाण्डाै – राष्ट्रिय सूचना आयोगले सूचना नदिने चार सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा सूचना मागेकालाई सूचना नदिने पशुपति क्षेत्र विकास कोषका कार्यालय प्रमुख एवम् कार्यकारी निर्देशक घनश्याम खतिवडा, धरान उपमहानगरपालिकाका कार्यालय प्रमुख लक्ष्मीप्रसाद पौडेल, रौतहटको राजपुत नगरपालिका कार्यालय प्रमुख बैजु ठाकुर र पद्मकन्या बहुमुखी क्याम्पस (बागबजार)का कार्यालय प्रमुख धनप्रसाद पण्डितलाई कारबाही गरेको हो ।

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला वली थापाका अनुसार उनीहरुलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम कारबाही गरिएको हो । परिच्छेद पाँचको सजाय तथा क्षतिपूर्ति सम्बन्धित व्यवस्थाको दफा ३२ मा मनासिब कारणविना सूचना नदिएको वा दिन इन्कार गर्ने कार्यालय प्रमुख वा सूचना अधिकारीलाई एक हजारदेखि २५ हजार रुपैयाँसम्मको जरिबानाको व्यवस्था छ ।

जरिबानासँगै विभागीय सजायका लागि सम्बन्धित निकायमा लेखेर पठाउन सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार खतिवडा र पण्डितलाई १५ हजार तथा पौडेल र ठाकुरलाई दश हजार रुपैयाँ जरिबानासहित विभागीय सजायका लागि पत्र पठाइएको सूचना आयुक्त थापाले जानकारी दिनुभएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट