१४ बैशाख २०८१, शुक्रबार

मधेशवादी दलहरुलाई एक हुन ऋषि धमलाको आग्रह, राष्ट्रपतिमा महन्थ ठाकुरलाई अघि सार्न सुझाव

काठमाडौं। रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले स्वर्गीय गजेन्द्रनारायण सिंह देशको परिवर्तनको लागि लडेको नेता भन्दै उनको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले भने,‘आज गजेन्द्रनारायण सिंहलाई सम्पूर्ण नेपालीहरुले सम्झिरहनुपर्छ । किनभने यो देशको समग्र विकास र प्रगतिमा र अधिकार प्राप्तिको लागि उहाँको महत्वपूर्ण भूमिका थियो ।’

आज (मंगलबार) गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रद्धारा आयोजित ‘समसामयिक राजनीतिक परिस्थिति र गजेन्द्र बाबु’ विषयक विचार विमर्श कार्यक्रममा सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् । धमलाले सिंहको कारण मधेशी जनताले अधिकार पाएको र संघीयता ल्याउनको लागि पनि भूमिका खेलेको स्मरण गराए । उनले सिंह आफ्नो भाषा, भूमि र जनताप्रति बफादार रहेको पनि सुनाए ।

‘उहाँ राजनेता हुनुहुन्थ्यो । तपाईँहरु स्वर्गीय सिंहलाई उच्च सम्मान गर्नुहुन्छ भने सबै एक हुनुपर्छ । अब टुक्रा–टुक्रा भएर काम छैन् । मधेशको विकास चाहने हो भने मधेशको धर्तीपुत्र महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनुहोस ।’–धमलाको भनाई थियो ।

उनले ठाकुरलाई राष्ट्रपति बनाउन प्रमुख दलहरुसँग छलफल गर्नपनि मधेशवादी दलका नेताहरुलाई सुझाए । उनले भने,‘अब महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनुहोस, उहाँ विशाल व्यक्तित्व भएको व्यक्ति हो । तपाईँहरुले हिम्मत गर्नुहोस । अब मधेशबाट राष्ट्रपति बनाउनुहोस । पहाड (गोरखाबाट) प्रचण्ड प्रधानमन्त्री बन्नुभयो, झापाका देवराज घिमिरे सभामुख हुनुभयो, अब राष्ट्रपति मधेशबाट बनाउनुहोस ।’

धमलाले मधेशको छोरो देशको प्रधानमन्त्री नबनेसम्म देशको विकास नहुने पनि बताए । उनले आफूले राजनीति राजनीति सुरु गरे मधेशबाट नै गर्ने घोषणा गरे । उनले मधेशका जनता राष्ट्रवादी भएको पनि बताए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट