२३ बैशाख २०८१, आईतवार

गोली हानिएका भारतीय नागरिकको मृत्यु

बारा ।
बाराको महागढीमाई नगरपालिका– २ भूतहीपुलनजिकै गोली हानिएका भारतीय नागरिकको मृत्यु भएको छ ।
भारतको पिपरा गाउँका ४५ वर्षीय शिवपुजन यावदमाथि आज साँझ दुईवटा मोटरसाइकलमा आएका पाँचजनामध्ये एकजनाले गोली प्रहार गरेका थिए ।

छातीमा गोली लागेका यादवको वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा ज्यान गएको बाराका बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

गोली प्रहार गर्नेहरू फरार भएका छन् । कलैया–बरियारपुर सडक खण्डको श्री स्वस्तानी पेट्रोल पम्पनजिक रहेको एक होटेलमा खाजा खाइरहेका वेला यादवमाथि गोली प्रहार भएको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीका अनुसार एउटा मोटरसाइकलमा तीनजना र अर्कोमा दुईजना सवार थिए । डिएसपी थापाले गोली हान्नेहरूको खोजी भइरहेको बताए । ‘गोली हानेर फरार भएकाहरूको तीव्र रूपमा खोजी भइरहेको छ,’ डिएसपी थापाले भने, ‘घटनास्थल र सीमा नाकामा व्यापक प्रहरी परिचालन गरेर खोजी गरिरहेका छौँ ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार यादव महागढीमाई नगरपालिकाको बरियारपुमा रहेका एक आफन्तको घरमा करिब ६ महिनादेखि बस्दै आएका थिए । नयापत्रिकाबाट

धेरै कमेन्ट गरिएका