१४ बैशाख २०८१, शुक्रबार

नेपाल-भारत सिमा अपराध नियन्त्रण गर्न प्रदेश १ का तीन जिल्लामा ‘लङमार्च पेट्रोलिङ’

विराटनगर ।
भारतीय सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रदेश १ प्रहरी कार्यालयले लामो दूरीको सशस्त्र प्रहरी गस्ती (लङमार्च पेट्रोलिङ) परिचालन गर्न थालेको छ । भारतसँग सिमाना जोडिएका झापा, मोरङ र सुनसरी जिल्लाका सीमावर्ती क्षेत्रबाट हुने चोरी–तस्करी र अपराधजन्य गतिविधिको रोकथाम तथा नियन्त्रणका लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले २० साउनदेखि हातहतियारसहितको लङमार्च पेट्रोलिङ परिचालन गर्न थालेको हो ।

प्रथम चरणमा मोरङमा र सुनसरीमा वरिष्ठ प्रहरी नायब निरीक्षक (सइ)को नेतृत्वमा २० देखि २५ साउनसम्म दसजनाको सशस्त्र प्रहरी टोलीले लङमार्च गस्ती गरेको थियो । कोसी कटान समस्याले गर्दा झापामा भने टोली भर्खरै परिचालन हुने तयारीमा रहेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी सुदीप गिरीले बताए । उनका अनुसार लङमार्च गस्तीमा खटिएका टोलीले सीमाक्षेत्रमा रहेका सम्बन्धित युनिटले खाना र वासको व्यवस्था मिलाउनुपर्नेछ ।
प्रदेश १ को तराईमा रहेका जिल्लाको सीमावर्ती क्षेत्रमा नाकामा स्थापना भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती गर्दै आएका छन् । सीमाक्षेत्रमा रहेका नेपाल प्रहरीका इलाका र चौकीहरूमार्फत आपराधिक कार्य पूर्ण रूपमा नियन्त्रण हुन नसकेपछि थप मदतसमेत हुने गरी लामो दूरीको गस्ती सुरु गरेको डिआइजी गिरी बताउँछन् । उनका अनुसार लामो दूरीको गस्ती गरेर फिर्ता आएको टोलीको प्रतिवेदनका आधारमा थप कार्ययोजना बनाएर निरन्तर सीमाक्षेत्रमा लङमार्च पेट्रोलिङ निरन्तर परिचालन भइरहनेछ ।’

प्रदेश १ को झापा, मोरङ र सुनसरीमा भारततर्फ जम्मा दुई सय ७० किमि खुला सिमाना छ । जसको फाइदा उठाउँदै लागुऔषध र साना हतियार ओसार–पसार मानव बेचबिखन र चोरी तस्करीजस्ता जघन्य अपराधहरु हुँदै आएका छन।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट