५ जेष्ठ २०८१, शनिबार

नेपालको आर्थिक सूचक झनै नकारात्मक दिशामा, मूल्य वृद्धि ७ दशमलव १४ प्रतिशत पुग्यो

काठमाण्डाै – नेपालमा अर्थतन्त्रका सूचकहरू झनै नकारात्मक बनेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गएको साउनदेखि फागुनसम्मको विवरणअनुसार मूल्य वृद्धि सात दशमलव १४ प्रतिशत पुगेको छ । सबैभन्दा धेरै घिउ–तेलको मूल्य २६ दशमलव ३४ प्रतिशत, तरकारीको मूल्य १४ प्रतिशत, दूध र अण्डाको मूल्य ११ दशमलव तीन प्रतिशत तथा दाल र गेडागुडीको मूल्य १० दशमलव तीन प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले यो वर्ष मूल्य वृद्धिलाई ६ प्रतिशतको सीमामा राख्ने लक्ष्य राखेको थियो । अरू प्रायः सबै सूचकहरू पनि नकारात्मक बनेका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गएको साउनदेखि फागुनसम्ममा वैदेशिक व्यापारमा ११ खर्ब ६१ अर्ब रुपैयाँ घाटा भएको छ । यो गएकाे वर्ष यही अवधिको तुलनामा ३४ दशमलव पाँच प्रतिशत धेरै हो ।

यस्तै साउनदेखि फागुनसम्म नेपालले एक खर्ब ४८ अर्ब रुपैयाँको वस्तु निर्यात गरेकोमा १३ खर्ब नाै अर्ब रुपैयाँकाे वस्तु आयात गरेको छ । आर्थिक वर्षको पहिलो आठ महिनामा गएकाे वर्षको तुलनामा एक दशमलव सात प्रतिशत थोरै अर्थात् ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

फागुनसम्ममा विदेशी मुद्राको सञ्चिति नौ अर्ब ५८ करोड डलरमा सीमित भएको छ । यो सञ्चितिले ६ महिनाभन्दा केही बढी समयको वस्तु र सेवाको आयात धान्छ । कुल गार्हस्थ्य उत्पादनको तुलनामा चालु खाता घाटा आठ प्रतिशत नाघे जोखिमपूर्ण मानिनेमा नेपालमा यस्तो घाटा ११ प्रतिशत पुगेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट