२३ बैशाख २०८१, आईतवार

कोलकातामाथि राजस्थानको शानदार जित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले कोलकाता नाइट राईडर्सलाई ९ विकेटले पराजित गरेको छ।

इडेन गार्डेनमा सम्पन्न खेलमा कोलकाताले प्रस्तुत गरेको १५० रनको लक्ष्य राजस्थानले १३ दशमलव १ ओभरमा एक विकेट गुमाएर भेट्टायो। राजस्थानको जितमा आक्रामक ब्याटिङ गरेका यशस्वी जैसवालले कीर्तिमानी ब्याटिङ गरे। उनले ४७ बलमा १२ चौका र पाँच छक्कासहित ९८ रन बनाए। यशस्वीले १३ बलमै अर्धशतक बनाएका थिए। यो सँगै यशस्वी आईपीएलको इतिहासमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बने। कप्तान सन्जु सामसनले २९ बलमा दुई चौका र पाँच छ्क्कासहित ४८ रन बनाए।

त्यसअघि टस हारेर ब्याटिङमा आएको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनाएको थियो। कोलकाताका वेन्कटेस ऐयरले ५७ रन बनाएका थिए । कप्तान नितिश राणाले २२, रह्मनुल्लाह गुर्बजले १८ रन जोड्दा आन्द्रे रसेल र जासन रोयले समान १० रन थपे।

राजस्थानका युजवेन्द्र चहलले चार विकेट लिए। चहलले चार ओभर बलिङ गर्दा २५ रन खर्चिए। ट्रेन्ट बोल्टले दुई विकेट लिदा सन्दीप शर्मा र केएम आसिफले समान एक विकेट लिए।

जितसँगै १२ खेलबाट १२ अंक जोडेको राजस्थान तालिकाको तेस्रो स्थानमा छ। समान खेलबाट १० अंक जोडेको कोलकाता तालिकाको सातौँ स्थानमा छ।

धेरै कमेन्ट गरिएका