विद्यालय वेहाल, विद्यार्थी जाेगाउन टेबुलकाे सहारा
कपिलवस्तु ।
हिजो वैशाख २२ गतेदेखि सामाजिक सञ्जालमा विद्यालयको कक्षाकोठामा एक शिक्षिकाले बेञ्चले छेक्दै बालबालिकालाई भिज्नबाट जोगाएको भिडियो भाइरल छ । वैशाख २१ गतेको हावाहुरी सहितको वर्षामा विद्यालय कोठाभित्र पानि चुहिएपछि बालविकास शिक्षिका निर्मला थापाले साना बालबालिका जोगाउन टेबुलको सहारा लिएकी थिइन् । छेउमै रहेका अर्का शिक्षकले ढोका छेक्दै बनाएको भिडियो थियो त्यो ।
वि.सं. २०१७ सालमा राजा महेन्द्रले पञ्चायत शासन प्रारम्भ गरेकै वर्ष स्थापना गरिएको कपिलवस्तुको विजयनगर ६, जुडपनीयाको यो रामशरण आधारभूत विद्यालयको अवस्था निकै जीर्ण छ । विद्यालयका ८ वटा कक्षाकोठा मध्ये ६ वटा २०४९ साल अघिकै संरचना भएको र बाँकी २ वटा २०६८ तिर बनेको प्रधानाध्यापक जमुना अर्याल बताउँछिन् ।
आधारभूत तहसम्म अध्ययन हुने उक्त विद्यालयमा २ सय ६० बढि विद्यार्थी सबै विपन्न तथा मधेशी दलित समुदायका हुन् । गर्मीमा ४६ डिग्री सम्म तापक्रम हुने यहाँका सबै कक्षाकोठा जस्ता पाताका छन्, त्यो पनि प्वाल परेका । ढोकाहरु फुटेका छन् भने झ्यालहरु राम्ररी लाग्दैनन् ।
शिक्षा स्वास्थ्यमा ठूलो क्रान्ति ल्याएको दाबी गर्ने पश्चिमको विजयनगर गाउँपालिकाले स्थानीय सरकार गठन भएपश्चात तलब सुविधा बाहेक १ रुपैयाँ लगानी नगरेको विद्यालय व्यवस्थापन समितिको आरोप छ । एमालेबाट २ पटक निर्वाचित गाउँपालिका अध्यक्ष गोपाल थापा र २ पटक वडाध्यक्ष बनेका प्रेमबहादुर कलवारले उक्त विद्यालयमा १० वर्षमा एउटा कुर्सीसम्म नकिनेको समितिको आरोप छ ।
जिल्लाकै सबैभन्दा पूरानो विद्यालयमध्येको एक उक्त विद्यालयलाई स्थानीय सरकारले मात्र होइन, जीर्ण विद्यालय तथा विपन्न बालबालिका देखाएर करोडौं डलर भित्र्याउने गैर सरकारी संस्थाले समेत वास्ता गरेको देखिँदैन । बालबालिका तथा शिक्षा क्षेत्रमा विगत ३० वर्षदेखि कार्यरत कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा सिद्धार्थ सामाजिक विकास केन्द्रले समेत केही नहेरेको विद्यालयकी प्रधानाध्यपक जमुना अर्याल बताउँछिन् । ‘एक महिनाअघि किड्सले ५ लाखको बालविकास केन्द्रको सामान आउन लागेको बताए पनि त्यो आएन’ उनले भनिन्, ‘एनजिओहरुले विद्यालयलाई के चाहिन्छ सोध्दैनन, आफैं निर्णय गरेर चाहिनेभन्दा नचाहिने सामान दिएर जान्छन् कसलाई के भन्ने,’ उनले दुःखेसो पोखिन् ।
विजयनगर गाँउपालिकाको शिक्षा नीति सिद्धान्ततः निकै लोभलाग्दो देखिन्छ । निःशुल्क शिक्षा, छात्रालाई साइकल, छात्रवृत्ति खाजा, शिक्षकहरुको क्षमता अभिवृद्धिलगायत ठूलो काम गरेको देखाउँदै आएको पालिकाले ७० वर्ष पुरानो विद्यालय जीर्णोद्धारमा १० वर्ष सम्म सुको बजेट उपलब्ध नगराएको हो । पालिकाले गत आवमा १० लाखको आत्मज्ञान ध्यान शिविर चलाएको थियो भने चालु आवमासमेत १० लाखभन्दा बढी बजेट ध्यान, विपश्यना शिविरमा छुट्याएको छ । जन आस्था
