स्थानीय समस्या समाधान मेरो प्राथमिकता : सुरेन्द्रराज आचार्य
नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्यले बुद्धभूमि नगरपालिका वडा नं. ३ दुबिया गाउँमा स्थानीयवासीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ।
कार्यक्रममा बोल्दै उम्मेदवार आचार्यले जनताका समस्या बुझ्न र समाधानका लागि साझा पहल गर्न आफू प्रत्यक्ष रूपमा गाउँ–गाउँमा पुगेको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिँचाइ र रोजगारीका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
आचार्यले विगतमा भएका कमी कमजोरीलाई सुधार गर्दै विकास र सुशासनलाई सँगसँगै अगाडि बढाउने धारणा व्यक्त गर्नुभयो। “जनताले दिएको विश्वासलाई कहिल्यै धोका दिने छैनौँ, जनताको आवश्यकता र चाहनाअनुसार काम गर्नेछौँ,” उहाँले भन्नुभयो।
अन्तरक्रियामा सहभागी स्थानीयवासीले दुबिया गाउँका खानेपानी, सिँचाइ, सडक स्तरोन्नति, स्वास्थ्य सेवा र युवालाई रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग राखेका थिए। उम्मेदवार आचार्यले ती सबै विषयलाई आफ्नो चुनावी प्रतिबद्धतामा समेटेर कार्यान्वयन गर्ने आश्वासन दिनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
