बांके ,रुपन्देहीपछि कपिलवस्तुमा कोरोना संक्रमित बढदै ,हिजाेसम्म ३०३ पुगे


कपिलवस्तु , बैशाख १६ ।
लुम्बिनी प्रदेशका रुपन्देही र बांकेपछि कपिलवस्तुमा पनि दिनहुँ कोरोनाभाइरसका संक्रमित बढिरहेका छन् ।
बुधबार मात्र जिल्लामा ४१ जना कोरोना भाइरसका संक्रमित बढेसंगै सक्रिय संक्रमितको संख्या ३ सय ३ पुगेको छ ।

बुधबार थपिएका ४१ संक्रमित मध्ये कपिलवस्तु नगरपालिकाका मात्र १२ जना रहेका छन् । विजयनगर गाउँपालिका र शिवराज नगरपालिकाका ८/८ जना, वाणगंगा नगरपालिकाका ५ जना, कृष्णनगर नगरपालिकाका ४ जना, महाराजगञ्ज नगरपालिकाका २ जना, शुद्धोधन गाउँपालिका र बुद्धभूमि नगरपालिकाका १/१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशभर कोरोनाको दोस्रो लहर सुरु भएसंगै जिल्लामा पनि संक्रमितको संख्या बढीरहेको हो । जिल्लामा पहिलो र दोस्रो चरण गरेर २ हजार ३ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ हजार ५७ जना निको भएका छन् ।

यस्तै जिल्लामा अहिलेसम्म ३८ जनाको कोरोनाको कारण ज्यान गैसकेको छ ।