बयान दिन्नँ, गोली ठोके हुन्छ : केपी शर्मा ओली
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै हालतमा बयान नदिने अडान लिएका छन् ।
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा बयान लिने तयारी गरिरहेको चर्चा चलिरहेको बेलामा उनले त्यसका लागि आफू तयार नरहेको बताए । एमालेको तेस्रोपटक अध्यक्ष निर्वाचित भएपछि पहिलोपटक हिमालय टिभीको कार्यक्रम यक्ष प्रश्नमा निमेष बन्जाडेसँगको अन्तर्वार्तामा ओलीले बरु आफू गोलि खान जेल जान तयार रहेको उल्लेख गरे ।
बयान यदि मान्नु भएन भने चाहिँ ‘हामी यसरी गरेर भएपनि ल्याउँछौ, त्यसरी गरेर भएपनि ल्याउँछौ’ भन्ने भाषा छ सरकार पक्षबाट आइरहेको छ नि भन्ने प्रश्नमा ओलीको जवाफ छ- बयान दिन मानेन भने गोली ठोकै हुन्छ नि । यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसक्यो, जाँच दिन्न भन्ने.. । यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली । उहाँहरूसँग छ नि त बन्दुक । के सानातिना कुरा गरिराख्या ? भएन भने आजीवन थुन्दिने, बयान नगरेबापत ।’
उनले बयानका लागि भन्दै आफ्नै घरमा आए आफूले चिया खुवाएर पठाउने उल्लेख गरे । ‘मैले कति पल्ट भन्नु, बयान दिनु पर्ने छैन। तपाईंले रिजल्ट निकालिसक्नु भयो, फेरि जाँच म किन दिने ? त्यसको अर्थ उहाँहरूसँग बोलचाल बन्द गर्छु भनेको होइन । मेरो कुराकानी हुन्छ। कुरा हुन्छ। बयान भन्ने कुरा व्यक्तिको स्वेच्छाको कुरा होइन र ?’
