एलोन मस्कको पार्टी घोषणा हास्यास्पद : ट्रम्प

सेयर गर्नुहोस

एजेन्सी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै नयाँ पार्टी घोषणा गरेका व्यवसायी एवं टेस्लाका सिईओ एलोन मस्कको आलोचना गरेका छन् ।

ट्रम्पले मस्कको तेस्रो पार्टी बनाउने घोषणालाई हास्यास्पद भन्दै उनको यो कदमले भ्रम मात्र पैदा गर्ने बताएका हुन् । उनले आफ्नो पार्टी रिपब्लिकनलाई एउटा सुचारु रुपमा चल्ने मेसिनको रुपमा वर्णन गरेका छन् ।

मस्कले नयाँ राजनीतिक दल अमेरिका पार्टीको घोषणा गरेको एक दिनपछि ट्रम्पले भने ‘तेस्रो पार्टीको सुरुवात गर्नु हास्यास्पद छ, हाम्रो रिपब्लिकन पार्टी निकै सफल छ, डेमोक्रेट्सले आफ्नो बाटो भुलिसके तर यो सधैं दुई–पक्षीय प्रणालीमा रहेको छ, तेस्रो पार्टी निर्माणले भ्रममात्र बढ्नेछ ।’

ट्रम्पले आइतबार सामाजिक प्लेटफर्ममा लामो पोस्ट सेयर गर्दै एलोन मस्कको हालत बिग्रिएकोसमेत टिप्पणी गरेका छन् ।

पछिल्लो पाँच हप्तामा एलोन मस्क पूर्णरुपमा लिकबाट बाहिरिएको देखेर आफू निकै दुखी भएको भन्दै उनले मस्कको हालत निकै खराब भएको उल्लेख गरेका छन् । अमेरिकामा कहिल्यै सफल नभएको तथ्यका बाबजुद मस्कले तेस्रो पार्टी सुरु गर्न चाहेको ट्रम्पले बताएका छन् ।

‘व्यवस्था उनका लागि डिजाइन गरिएन भन्ने लाग्छ, तेस्रो पार्टीहरू व्यवधान र अराजकता पैदा गर्नका लागि राम्रो होला । रिपब्लिकन एक सुचारु रुपमा चल्ने वाला मेसिन हो, जसले हाम्रो देशको इतिहासमा आफ्नो तर्फबाट सबैभन्दा ठूलो विधेयक पारित गरेको छ’ ट्रम्पले भनेका छन् ।

राष्ट्रपति ट्रम्पसँग मतभेद भएको केही हप्तापछि एलोन मस्कले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । उनले आफ्नो दलको नाम ‘अमेरिका पार्टी’ राखेका छन् । गत मे मा ट्रम्पको कर र खर्च योजनाको सार्वजनिक रुपमा आलोचना गरेपछि दुई जनाबीच मतभेद सुरु भएको थियो ।

सरकारबाट अलग भएर ट्रम्पसँग सार्वजनिक रुपमै बहसमा उत्रिएका मस्कले ट्रम्पले सुन्दर भनेका विधेयकले देशलाई टाट पल्टाउने टिप्पणी गरेका थिए । सन् २०२४ को चुनावमा ट्रम्पका मुख्य समर्थक रहेका मस्कले ट्रम्पको जितका लागि झण्डै २५ करोड डलर खर्च गरेका थिए । थाहा खबर

Facebook Comments Box