चिडियाखानाका बाघको शनिबार व्रत

सरस्वती अधिकारी
काठमाडौँ : तपाईँ हप्तामा कति दिन व्रत अर्थात् उपवास बस्नुहुन्छ? एक दिन, दुई दिन वा बस्नुहुन्न? सातामा एक दिन व्रत वस्तु मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
त्यसो त मान्छे मात्र होइन जनावरले पनि एक दिन नखाएकै राम्रो भन्छन् अधिकारीहरू। यसको उदाहरण ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा बाघका लागि निर्धारित आहारा तालिकामा देखिन्छ, जहाँ बाघले एक दिन व्रत बस्नुपर्ने हुन्छ।
सदर चिडियाखानामा अहिले तीनवटा भाले र दुइवटा पोथी गरी पाँचवटा बाघ छन्। मान्छेलाई आक्रमण गर्नेदेखि कुनै न कुनै हिसाबले जंगलमा समस्याग्रस्त देखिएका बाघहरू उद्धार गरी चिडियाखानामा राखिएको छ। चिडियाखानाको बाघले एक दिनमा ६ केजी मासु खान पाउँछ।
बाघको व्रत किन ?
चिडियाखानाका सिनियर क्यूरेटर अशोक सुवेदीका अनुसार एउटा बाघलाई ६ केजीका दरले पाँचवटा बाघलाई ३० किलो मासु दिनुपर्छ र वर्षभरी लाग्ने एउटा बाघको खर्च हेर्दा १५ लाख रुपैयाँको हाराहारी देखिन्छ।
चिडियाखानाको बाघलाई राँगाको मासु खुवाइन्छ तर हप्ताको ६ दिनमात्र। ‘हामीले शनिबारबाहेक सबै दिन मासु दिन्छौं, शनिबार भने बाघको व्रत राखिदिएका छौं’, सुवेदीले भने। बाघका लागि हरेक दिन राँगाको ताजा मासु ल्याउने गरिएको भन्दै सुवेदीले दिउँसो साढे २ देखि ३ बजेको आसपासमा खान दिने गरिएको बताए। बाघलाई ५-६ किलोको ठूलठूला टुक्रा बनाएर दिने गरिएको छ।
‘धेरै मोटायो भने मासु कम गर्छौँ, जंगलमा उनीहरूले लामो समयसम्म पनि खान पाउँदैनन्’, सिनियर क्यूरेटर सुवेदीले भने‚ ‘यहाँ दिनकै टन्न खाँदा उसको स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले कहिलेकाहीँ फास्टिङ गराउँछौँ, जुन अन्यत्र पनि अभ्यासमा छ।’ उनका अनुसार अन्ताराष्ट्रिय एसोसिएसनको स्ट्यान्डर्ड अनुसार नै बाघका लागि डाइट प्लान बन्ने गर्छ। जनावरलाई खुवाउने माछामासु, फलफूल, गेडागुडी, साग सब्जीसहित चिडियाखानामा लगभग ४० प्रकारको खाना पुग्छ।
जंगलमा हप्ता दिनमा एउटा सिकार
सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा हाल १२८ वटा बाघ छन्। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तका अनुसार जंगलमा बाँचिरहेका बाघ र चिडियाखाना तथा उद्धार केन्द्रमा राखिएका बाघको आहारा तालिका फरक हुन्छ।
‘जंगलमा सामान्यतया हप्ता/दश दिनमा बाघले ठूलो सिकार गर्छ, जसले ऊ केही दिनका लागि अघाउन सक्छ’, पन्तले भने‚ ‘निकुञ्ज क्षेत्रभित्र रहेका बाघहरू प्राकृतिक रूपमै घाँसे मैदानमा चरण गर्न आएका चित्तल, जरायो, बँदेल, मृगलगायतका अन्य जनावरको सिकार गरेर बाँचिरहेका हुन्छन्।’
चितवन राष्ट्रिय निकुञ्जको कसरा, देवनगर र पूर्वी क्षेत्र सौराहामा बाघका खोर छन्। घाइते भएका, आरक्षित क्षेत्रभन्दा बाहिर वस्तीतर्फ जान लागेका, मानवीय द्वन्द्वमा आउन सक्ने समस्याग्रस्त ७ वटा बाघलाई उद्धार गरी खोरमा राखिएको छ। खोरमा राखिएका बाघलाई भने तालिका बनाएर खुवाउने गरिएको छ।
१२५ वटा बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचवटा बाघ खोरमा छन्। मानवीय सुरक्षाका कारण बाध्यताले उद्धार केन्द्रमा राखेर व्यवस्थापन गरिएका बाघको आहारामा कमी गर्न नसकिने सूचना अधिकारी सरोजमणि पौडेलले बताए।
बर्दियामा बाघले हरेक दिन मासु खान पाउँदैन। ‘रम्मापुरमा ३ वटा र ठाकुरद्वारमा २ वटा समस्याग्रस्त बाघ रेस्क्यू सेन्टरमा छन्, तिनलाई एक दिन बिराएर पाँच केजीका दरले मासु खान दिने गरिएको छ’‚ पौडेलले भने।
स्याहारले आयु बढायो
जंगलमा बाघले आफ्नो पेट भर्न संघर्ष गर्नुपर्ने हुन्छ तर उद्धार केन्द्र तथा चिडियाखानामा उसले आरामले खान पाउँछ। यसै कारण पनि जंगलमा प्राकृतिक रूपमा बाँचेका भन्दा चिडियाखाना वा खोरमा राखेका बाघहरू धेरै बाँच्ने गरेका अधिकारीहरूको भनाइ छ।
‘जंगलमा आफैंले खोजेर, सिकार गरी खानुपर्छ, आफूजस्तै अर्को बाघसँग संघर्ष गर्नुपर्छ, समयमा उपचार नपाउन सक्छ, जसले गर्दा उनीहरू सरदर १० देखि १५-१६ वर्ष सम्म बाँच्छन्’, उनले भने चिडियाखानामा राखिएका बाघहरू भने २० वर्षसम्म पनि बाँचेका छन्। एउटा बाघले एकपटकमा ८० पाउन्डभन्दा धेरै मासु खान सक्ने अनुमान गरिन्छ।
बाघका दुई मान्यता प्राप्त महाद्वीपीय (प्यान्थेरा टाइग्रिस टाइग्रिस) र सुन्डा (प्यान्थेरा टाइग्रिस सन्डाइका) गरी उपप्रजाति छन्। सबै एसियाली ठूला बिरालोहरूमध्ये सबैभन्दा ठूलो बाघहरू सिकारका लागि गन्धको सट्टा मुख्य रुपमा दृष्टि र आवाजमा भर पर्छन्। तिनीहरू सामान्यतया एक्लै सिकार गर्छन्।
ठूला उपप्रजातिका भाले महाद्वीपीय बाघको तौल ६६० पाउन्डसम्मको हुन्छ भने साना उपप्रजातिका भाले बाघ–सुन्डा बाघ ३१० पाउन्डसम्मका हुन्छन्। दुवै प्रजातिमा भाले बाघहरू पोथी बाघभन्दा ठूला हुन्छन्।
बाघको संख्या
नेपालमा सन् २०१० मा १२५ वटा बाघ थिए जुन २०२२ को गणनामा ३५५ पुगे। बाघको संख्या अझ बढ्न सक्ने निकुञ्जका अधिकारीहरू बताउँछन्। इन्टरनेशल युनियन फर कन्जरभेसन अफ नेचर (आईयुसीएन) का अनुसार भारतमा सबैभन्दा धेरै २ हजार ९६७, रूसमा ४३३, इन्डोनेसियामा ३७१ वटा बाघ रहेका छन्। नेपालमा ३५५ बाघ रहेकामा थाइल्याण्डमा १४८ देखि १४९, मलेसियामा १२०, बंगलादेशमा १०६, भुटानमा १०३, चीनमा ५५, म्यान्मामा २२ वटा बाघ रहेको अनुमान छ।
अघिल्लो शताब्दीमा झण्डै ९७ प्रतिशतले बाघको संख्यामा गिरावट देखियो। २० औं शताब्दीको सुरुमा करिब १ लाख बाघ थिए। यो संख्या घटेर सन् २०१० मा करिब ३‚२०० आइपुग्यो। अवैध सिकार, वासस्थानमा हानि नोक्सानी, मानव वन्यजन्तु द्वन्द्व जंगलका बाघका लागि मुख्य खतरा बनेको बताइन्छ।
सन् २०२२ मा सार्वजनिक भएको आईयूसीएनको नयाँ सूचीमा ४‚५०० बाघ जंगलमा बाँचिरहेका अनुमान गरिएको छ। विशेषगरी नेपाल र भारतमा बाघको संख्या बढेको हो।