दिल्ली चुनाव : केजरीवालले स्वीकारे हार

एजेन्सी : भारतीय जनता पार्टी (भाजपा) २७ वर्षपछि दिल्लीको सत्तामा फर्किने भएको छ।
विधानसभा चुनावमा उत्कृष्ट नतिजाका साथ भाजपाले कमब्याक गरेको हो। दिल्ली विधानसभामा ७० सिटको लागि चुनाव भएको हो। जसमा सरकार बनाउनका लागि बहुमत अर्थात् ३६ सिट आवश्यक पर्छ।
भारतीय चुनाव आयोगका अनुसार भाजपाले २५ सिट जितिसकेको छ भने अरु २३ सिटमा अग्रता बनाइराखेको छ। हाल सत्तामा रहेको आम आद्मी पार्टी (आप)ले अहिलेसम्म ९ सिट मात्र जितेको छ। उसले मतगणना भइरहेका १३ स्थानमा अग्रता कायम गरेको छ।
कांग्रेसले एक सिट पनि जितेको छैन। आपका राष्ट्रिय संयोजक एवं पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल स्वयम् पराजित भएका छन्।
नयाँदिल्लीबाट उठेका केजरीवाल भाजपाका प्रवेश वर्मासँग चार हजार ८९ मतान्तरले पराजित भएका हुन्।
उनले पार्टीको हार स्विकार गर्दै भाजपालाई बधाई दिएका छन्।
‘हामीलाई हार स्वीकार्य छ, भाजपालाई जितका लागि बधाई दिन चाहन्छु। जनताले गरेको भरोसामा भाजपा खरो उत्रन्छ भन्ने अपेक्षा राख्दछु’- एक भिडियो सन्देशमा उनले भनेका छन्।
जनताले आफूहरूलाई १० वर्ष मौका दिएको र त्यसमा पर्याप्त काम गरेको उनको जिकिर छ। शिक्षा, स्वास्थ्य, पानी र पूर्वाधार निर्माणमा पर्याप्त काम गर्ने प्रयास गरेको भन्दै उनले अब रचनात्मक प्रतिपक्षको भूमिका निभाउने बताए।
पाँच वर्षअघि सन् २०२० को चुनावमा आपले ६२ सिटमा चुनाव जित्दा भाजपाले जम्मा ८ सिट जितेको थियो।