नागरिकता दिन मधेशी लाई सर्जमिन किन ?

सेयर गर्नुहोस

मधेशी दलका नेतासमेत उदासिन

कपिलवस्तु , माघ २३ । जिल्लाका स्थानीय नेता र जनप्रतिनिधि उदासीन भएका कारण नागरिकताका लागि प्रशासन कर्मचारीहरु मनपरी सर्जमिन ताेक्दै मधेशि जनतालाई त्रसित बनाएका छन ।
अहिले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा सबै कागजात भएपनि अनुहार हेर्ने बित्तिकै सर्वजमिन ताेक्ने गरिएकाे जनगुनासाे बढ्ना थालेकाे छ । नागरिकताकाे मुद्दा लिएर पटक पटक आन्दोलन गरेका मधेशी दलका नेता कार्यकर्ता समेतले चासाे नलिएकाले स्थानीय मधेशी , मुस्लिम समुदायका सर्वसाधारण पिडित बनेका छन ।
कपिलवस्तुको मायादेवी-१ का अबुबकर मुसलमान ९ महिनादेखि नागरिकता बनाउन धाइरहेका छन् । वंशजको नागरिकता लिने प्रक्रिया सबै पुरा गरेका उनलाई वडाले १ पटक र जिल्ला प्रशासन कार्यालयले २ पटक नेपाली हो होइन भनेर प्रहरी सर्जमिन गराइसक्यो । तत्पश्चात पनि नागरिकता दिइएको छैन । बढी उमेरमा आएर किन नागरिकता बनाउन खोजेको भन्दै सहायक सिडिओ परमानन्द घिमिरेले उनको सबै कागजात र फाइल आफैले कब्जा गरिराखेका छन् । “तिम्रो उमेरमा शंका छ,तिमी नेपाली हो होइन हामी अझै बुझ्छौं भन्दै घिमिरे सा”बले फाइल राख्नुभएको छ” अबुबकरले भने ।

अबुबकरको सम्बन्धित वडाले २०७९ भदौ २४ र नागरिकता बनाउन शंका लागेका कारण प्रशासनले २०८१ वैशाख ३० र मंसिर १२ गते प्रहरी सर्जमिन गराएको थियो । सबै विवरणमा उनी मुनिलाल र सहरुन्निशाकै सन्तान भएको प्रमाणित भएपश्चात पनि नागरिकता प्रकृया रोकेर सास्ती दिइएको छ । “आमा हिंड्न सक्नुहुन्न, गनेर २१ पटक प्रशासन कार्यालय आइसकेँ तर नागरिकता बनाइदिएनन्”उनले भने । मायादेवी- १ का वडा अध्यक्ष इसहाक मुसलमानले जन्मदर्ताको उमेरमाथि प्रश्न गर्दै नागरिकता बनाउन रोकिएको बताए ।“हामी आफै ४ पटक गइसक्यौँ, अब बन्छ,भोलि आउनु भन्छन् तर दु:ख पाउने क्रम जारी छ” उनले भने ।

घिमिरे आएयता ४ सय १३ वटा नागरिकता सर्जमिन माग गरिएको र त्यसमध्ये पनि ३ सय बढी मधेशी समुदायको रहेको छ ।

छिटो छरितो तथा भेदभाव रहित सेवा प्रवाह गर्ने तथा मातहतका सबै सरकारी गैर सरकारी निकायमा समेत चुस्त दुरुस्त सेवा दिन निर्देशन गर्ने प्रशासन कार्यालयमै सेवाग्राहीले सास्ती पाएको यो पहिलो घटना होइन । प्रशासन श्रोतका अनुसार ६ महिनाअघि जिल्ला प्रशासनको सहायक प्रमुख जिल्ला अधिकारी बनेर आएका उपसचिव परमानन्द घिमिरेले मधेशी अनुहार देख्नेबित्तिकै र सामान्य त्रुटी पाउनासाथ दुखः दिने गरेका छन् । नागरिकता दिँदा फसिने त्रासका साथ जागिर खान आएका प्रशासकीय अधिकृत प्रेमबहादुर रोकाहा जस्ता अधिकृतका कारण नागरिकता लिन आउनेहरु अझ पीडित बनेको सेवाग्राहीहरुको गुनासो छ । एउटा नागरिकतामा एक पटक प्रहरी सर्जमिन भइसक्दा पर्याप्त प्रमाण तथा आधार हुँदाहुँदैपनि २ पटक सर्जमिन गर्दासमेत नागरिकताबाट बञ्चित गराइनु प्रशासकको नियत बेठीक भएको मधेशी नेता विजयप्रकाश जैसवाल बताउँछन् ।

कपिलवस्तु प्रशासन श्रोतका अनुसार साउन यता मात्रै जिल्ला प्रशासनले ६ सय २० वटा नागरिकता सर्जमिन तोकेको छ । जसमध्ये उप सचिव घिमिरे आए यता ४ सय १३ वटा नागरिकता सर्जमिन माग गरिएको र त्यसमध्ये पनि ३ सय बढी मधेशी समुदायको नागरिकताका लागि सर्जमिन मागिएको छ । नागरिकता बनाउने कार्य एक दिनमै सकिने भए पनि सहायक सिडिओ घिमिरे आए यता अधिकांश मधेशी समुदायका व्यक्तिहरुलाई हप्तौँ दिन लाग्ने गरेको छ । “प्रशासकले शंका लागेमा मात्र सर्जमिन तोक्ने हो,एक त बंशजको नागरिकता त्यसमाथि सबै कागजात पुरा छ, बाबु आमा आफै सनाखतका लागि आएका छन् तर पनि प्रहरी सर्जमिन तोकिन्छ यो गलत पद्धति हो, सुधार गुर्नपर्छ” नेता जैसवालले भने । सामान्य विषयमा समेत अनुहार हेरेर प्रहरी सर्जमिन तोक्ने प्रक्रियाले नागरिकता बनाउन कम्तिमा १ हप्ता ढिलो हुने र सेवाग्राहीले सास्ती पाउने कार्य रोक्न अधिकारकर्मीहरुले समेत माग गरेका छन् । नागरिकता पाउन सास्ती हुने गरेको विषयमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले कुनै समस्या नभई सर्जमिन नतोकिने बताउँदै हुने गरेका केही प्राविधिक कारणले रोकिएका सर्जमिन बाहेक प्रशासनले सबैलाई समान र सम्मानजनक व्यवहार गर्ने दाबी गर्नुभयो ।

Facebook Comments Box