रेफ्रीको पक्षपातपूर्ण निर्णयपछि राष्ट्रपति रनिङ्ग शिल्ड बहिष्कार

सेयर गर्नुहोस

विजयनगर। कपिलवस्तुको विजयनगर गाउँपालिकामा जारी चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा दूधाधारी नमुना माध्यमिक विद्यालय, गुगौलीले रेफ्रीको पक्षपातपूर्ण निर्णयको विरोधमा प्रतियोगिता बहिष्कार गरेको छ ।

 

छात्रतर्फको फाइनल कबड्डी खेलमा जनजागृति मावि लोहरौला र दूधाधारी मावि गुगौलीबीच प्रतिस्पर्धा भइरहेको बेला रेफ्रीले पटक–पटक अनुचित निर्णय लिएको भन्दै दूधाधारी माविले खेल जारी राख्न अस्वीकार गरेको हो । विद्यालयका प्रधानाध्यापक सुग्रीव प्रसाद कोरीले रेफ्रीको निर्णय गलत र अन्यायपूर्ण भएकाले खेल बहिष्कार गर्न बाध्य भएको बताए ।

 

भिडियोमा पनि देखियो पक्षपात ।।

प्रधानाध्यापक कोरीका अनुसार खेलका क्रममा रेफ्रीले रेडरले कुनै पनि खेलाडीलाई नछोएको अवस्थामा समेत आउटको निर्णय गरेका थिए । उक्त घटना खेलमैदानमा उपस्थित दर्शकले प्रत्यक्ष रूपमा देखेको र बनाइएको भिडियोमा समेत प्रस्ट देखिएको छ । “यसले विद्यार्थी र खेलाडीहरूको मनोबल घटाएको छ,” उनले भने ।

 

रेफ्री संयोजकको आलोचना ।।

दूधाधारी माविले प्रतियोगितामा रेफ्री संयोजकको भूमिकामा रहेको भुनेश्वरी माध्यमिक विद्यालयका शिक्षक खिम थापामाथि गम्भीर आरोप लगाएको छ । विद्यालयका शिक्षकहरूले भुनेश्वरी माविले इमिस (शैक्षिक तथ्यांक व्यवस्थापन प्रणाली) मा नाम नभएका विद्यार्थीलाई रेफ्री संयोजक थापाको निर्देशनमा खेलमा सहभागी गराएको दाबी गरेका छन् ।

 

विजयनगर गाउँपालिकामा सञ्चालित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रेफ्रीले छात्रतर्फ कबड्डी खेलमा १५ मिनेट खेलाउनुपर्नेमा ७:३० मिनेट मात्र खेलाएको छ ।

 

भुनेश्वरी मावि जगीदिशपुर र नेपाल तारा मावि मङ्गरघट्टीबीच भइरहेको छात्रतर्फ खेलमा रेफ्रीले गलत तरिकाले खेलाएको छ ।

 

नेपाल तारा माविका खेल शिक्षकल खेलाउने समय नसकेको रेफ्रीले जानकारी दिँदा समेत नेपाल तारालाई हराउने अभिप्रायले समय सकिएको भन्दै प्राविधिक टोलीले खेलाडीहरूबीच हात मिलाउन लगाई बाहिर पठाएको छ ।

 

खेल व्यवस्थापन समितिमा असन्तुष्टि ।।

दूधाधारी माविका अनुसार खेल व्यवस्थापन समितिलाई सही निर्णय लिन पटक–पटक आग्रह गर्दा पनि कुनै सुनवाइ नभएको आरोप छ । “न्याय पूर्ण समाधान नगरेको र खेलको विवादलाई स्थगित नगरी अन्य खेल अगाडि बढाइएको छ,” कोरीले भने ।

 

प्रतियोगिता बहिष्कारको कारण ।।

प्रधानाध्यापक कोरीका अनुसार दूधाधारी माविले प्रतियोगितामा अहिलेसम्म ७ स्वर्ण, ६ रजत, र ८ कास्य पदक जितेर उत्कृष्ट प्रदर्शन गरेको थियो । यद्यपि, विद्यालयलाई जानाजानी पराजित गराउने उद्देश्यले पक्षपातपूर्ण निर्णय गरिएको उनको आरोप छ ।

 

त्यसैगरी, दौड प्रतियोगितामा भुनेश्वरी माविका खेलाडीहरूले दूधाधारी माविका खेलाडीलाई जानाजानी खुट्टा लगाई लडाउन खोज्दा पनि कुनै कारबाही नगरिएको उनले बताए ।

 

विद्यार्थीहरू निराश ।।

दूधाधारी माविका विद्यार्थीहरूले रेफ्रीको बदमासीका कारण ठूलो निराशा व्यहोर्नु परेको बताउँदै, यस किसिमका घटनाले खेलकुदमा प्रतिस्पर्धा भन्दा पनि विवादलाई बढावा दिने बताएका छन् ।

 

निष्पक्ष छानबिनको माग ।।

दूधाधारी माविले प्रतियोगितामा भएका सबै पक्षपातपूर्ण निर्णयहरूको छानबिन गरी उचित समाधान गर्न माग गरेको छ । साथै, आगामी प्रतियोगिताहरूमा निष्पक्षता कायम राख्न योग्य र अनुभव भएका रेफ्री तथा प्राविधिक टोलीलाई मात्रै जिम्मेवारी दिनुपर्नेमा विद्यालयले जोड दिएको छ ।

 

समग्रमा विवादित प्रतियोगिता ।।

विजयनगरमा आयोजना गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यसपटक विवादास्पद बनेको छ । स्थानीय तथा सहभागी विद्यालयहरूले पनि प्रतियोगिताको व्यवस्थापन र रेफ्रीका निर्णयप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । खेलकुद क्षेत्रमा निष्पक्षता र प्रतिस्पर्धाको भावना जोगाउन यस्ता घटनाको पुनरावृत्ति रोक्नुपर्नेआवश्यकतामा सबैले जोड दिएका छन् ।

 

Facebook Comments Box