मिर्जा गालिवको स्मृतिमा नेपालमा कवि सम्मेलन

सेयर गर्नुहोस

कपिलवस्तु ,पुस १६ ।  उर्दू कविको रूपमा ख्याति प्राप्त गरेका मिर्जा असदुल्लाह खान गालीबको यादमा कवि सम्मेलन सम्पन्न भएको छ । कपिलवस्तु जिल्ला तौलिहवा स्थित गौतम बुद्ध होटलमा सम्पन्न भएको सम्मेलनको आयोजना उर्दू फाउन्डेशन नेपालले गरेको थियो ।
नेपालका उर्दू भाषी कविहरूका साथै भारतका सिद्धार्थनगर लखनऊ समेतबाट आएका कविहरुले गालिबको शायरी बारे प्रकाश पारेका थिए ।

गालिब लाई सम्झिदै आयोजना भएको कार्यक्रमले समाजभित्र मानवता र प्रगतिशील बाटोमा हिँड्न मद्दत गर्ने बताइएको छ । आयोजक संस्थाका अध्यक्ष सहर महमूदले गालीबको शायरीमा जीवनका विभिन्न आयाम समेटेको हुनाले एक अर्काको सम्मान र सहअस्तित्वलाई बुझ्ने मौका दिने गरेको बताएका हुन् ।

त्यस्तै साकिब हारुनीले गालिबकाे शायरी भाषिक रूपमा उच्चतम श्रेणीमा रहनुका साथै सभ्यताको झलक दिने गरेको जिकिर गरे । साथै साहित्यिक रूपमा निकै माथि रहेका गालिवका शायरी संसारभरिका लागि सान्दर्भिक लाग्ने गरेको बताए ।

कार्यक्रममा बोल्दै डा. उमैर मजहरले गालीबको शायरी शैलीलाई पछ्याउने काम एकदम भएको बताए । आजका कविहरुले गालिब शैली लाई अपनाएर आफ्नो कला अगाडि बढाउनु जरुरी रहेको उनले जिज्ञासा राखे ।

कार्यक्रममा डा. जावेद कमाल, डा. साकिब हारूनी, रियाज कासिद, शादाब शाबरी, पंकज सिद्धार्थ, शिवसागर सहर, अंसार नेपाली, शमशाद हशमत र सिराज नूर जस्ता प्रतिष्ठित कवि तथा साहित्यकारहरूले आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए । कार्यक्रम पुष १३ गते गौतम बुद्ध होटलमा सम्पन्न भएको छ । आयोजक संस्थाले विगत केही महिना देखि निरन्तर मुशायरा जस्ता साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

Facebook Comments Box