कपिलवस्तुमा मुक्ति समाजको विस्तारित बैठक सम्पन्न, संगठन सशक्तीकरणमा जोड

कपिलवस्तु, ९ पौष – नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तु जिल्ला कमिटीको विस्तारित बैठक आज भव्य रूपमा सम्पन्न भएको छ। प्रमुख अतिथि नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्माले कार्यक्रममा संगठनको लक्ष्य, दिशा र आगामी योजनाका विषयमा प्रकाश पार्दै सामाजिक न्याय र समानताको मुद्दामा अडिग रहन आग्रह गरे।
उनले आफ्नो सम्बोधनमा भने, “जातीय उत्पीडनको अन्त्य र समानताको स्थापनाका लागि हामी सबैको ऐक्यबद्धता र निरन्तर संघर्ष आवश्यक छ। संगठनको सुदृढीकरण, एकता, र निष्ठाको बलमा मात्र हामीले समाजमा परिवर्तन ल्याउन सक्छौं।”
कार्यक्रममा मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज नन्द विश्वकर्माले संगठनका आगामी योजना र अभियानबारे जानकारी गराए। साथै, लुम्बिनी प्रदेश पार्टी सदस्य नेत्रराज अधिकारीले संगठनलाई स्थानीय स्तरमा थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।
बैठकमा मुक्ति समाजका स्थायी समिति सदस्य तथा पार्टी सचिव सि.बी. गहतराज, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कृष्ण विश्वकर्मा लगायतका अतिथिहरूले पनि आ–आफ्नो धारणा राखे।
बैठकले संगठनलाई जिल्लास्तरमा सशक्त बनाउने रणनीतिक योजनाहरू पारित गरेको र आगामी दिनमा नयाँ अभियानहरू सञ्चालन गर्ने निर्णय गरेको छ।