जडिबुटी निकासी गर्दा १६ लाखको राजस्व, चूर्ण किन्दा ५० लाख

सेयर गर्नुहोस

बैतडी : जिल्ला बाट गत वर्ष चार लाख किलो जडlबुटी निकासी गरेर सरकारले १६ लाख रुपैयाँ राजस्व प्राप्त गर्दा जिल्लाका चार वटा आयुर्वेदिक अस्पतालका लागि ५० लाख रुपैयाँ खर्च गरेर जडिबुटीको चूर्ण खरिद गरेको छ।

राज्यलाई तीन गुणा बढी घाटा भए पनि जिल्लामा न प्रशोधन केन्द्र खुल्न सकेको छ न त जडिबुटी निकासीसम्बन्धी नयाँ मापदण्ड नै बन्न सकेको छ।

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ,बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पाइने जडिबुटी प्रतिकिलो दुई रुपियाँ राजस्व तिरेर बिचौलियाले भारत निकासी गर्दै आएका छन्।डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा अमला ७५ हजार किलो, तेजपत्ता ५५ हजार किलो, चुत्रो ३० हजार किलो, पाषाणभेद ३८ हजार किलो, रातो च्याउ पाँच हजार किलो, रिट्ठो एक लाख किलो गरी चार लाख किलो जडिबुटी निकासी भएको छ। वनबाट महत्त्वपूर्ण जडिबुटी अनियन्त्रित ढङ्गले दोहन हुँदा संरक्षणको जिम्मेवारी पाएका प्रदेश र स्थानीय तहको सरकारको भूमिका पनि अत्यन्त कमजोर बन्न पुगेको छ।

यसरी निकासी हुने जडिबुटी प्रशोधनपछि पुनः महँगो मूल्यमा जिल्ला भित्रिने गरेको दशरथ चन्द नगरपालिका- ४ स्थित आयुर्वेदिक अस्पतालका प्रमुख नरेन्द्र कलौनीले बताए। जिल्लामै पाइने पहाडी अमला दुई रुपियाँ प्रतिकिलो राजस्व तिरेर बाहिर गइरहेको अवस्थामा आयुर्वेदिक अस्पतालले दुई हजार रुपियाँ प्रतिकिलो अमलाको चूर्ण किन्नुपर्ने बाध्यता रहेकोउनको भनाइ छ।

प्रदेश सरकारमातहत रहेका जिल्ला आयुर्वेदिक अस्पताल मेलौली, स्थानीय तहमातहत रहेका दशरथ चन्द नगरपालिका–१, गुरुखोला, ४ नम्बर वडाको शाहीलेक र सिगास गाउँपालिका–२, गाँजरीमा रहेका आयुर्वेदिक अस्पतालले वार्षिक ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेर बाहिरबाट जडिबुटीको धुलो किन्दै आएका छन्।

जिल्ला आयुर्वेदिक अस्पताल मेलौलीले मात्रै वार्षिक २५ देखि ३५ लाख रुपियाँको जडिबुटी खरिदमा खर्च हुने गरेको अस्पतालमा लेखापाल प्रेमराज भट्ले जानकारी दिए।

आयुर्वेदिक औषधालयमा सरकारले तोकेका २५ किसिमका जडिबुटीको धुलो वितरण गर्न दशरथ चन्द नगरपालिकामा मात्रै वार्षिक रूपमा ११ लाख रुपैयाँ खर्च भइरहेको दशरथ चन्द नगरपालिका–४ स्थित आयुर्वेदिक अस्पतालका प्रमुख कलौनीले जानकारी दिए।

Facebook Comments Box