बर्दिया घुम्न प्रदेश सरकारको निम्तो

बर्दिया, ५ पुस । लुम्बिनी प्रदेश सरकारले बर्दिया जिल्लालाई लक्षित गर्दै “घुम्न जाउँ बर्दिया” अभियानको भव्य शुभारम्भ गरेको छ । प्रदेश सरकार र ठाकुरबाबा नगरपालिकाको सहकार्यमा सुरु गरिएको अभियान लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक विशेष समारोहका बीच उद्घाटन गरेका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत संचालन गरिएको यो अभियानले बर्दियालाई आन्तरिक र बाह्य पर्यटकहरूको मुख्य गन्तव्यको रूपमा स्थापित गर्न प्रयासरत छ । मुख्यमन्त्री आचार्यले बर्दिया जिल्लाको ऐतिहासिक, सांस्कृतिक, र जैविक विविधता पर्यटनको माध्यमबाट समृद्ध लुम्बिनीको आधार बनाउन सकिने बताए ।
मुख्यमन्त्री आचार्यले प्रदेशका सबै कर्मचारीलाई बर्दिया भ्रमणका लागि दश दिनको समय छुट्टाइएको जानकारी गराउँदै संघ, संस्था, विद्यालय, र सहकारी संस्थाहरूलाई बर्दिया भ्रमणमा सहभागी हुन आग्रह गरे। “पर्यटनबाट आत्मनिर्भर प्रदेशको लक्ष्य पूरा गर्न सम्भावना छ, त्यसैले यसलाई उच्च प्राथमिकतामा राखिएको छ,“ उनले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज बाघ, गैँडा, जंगली हात्ती, बाह्रसिङ्गा, र विभिन्न प्रजातिका चरा–चुरुङ्गीहरू देख्न सकिने दुर्लभ गन्तव्य हो। यस कार्यक्रमको मुख्य उद्देश्य बर्दिया जिल्लाको पर्यटकीय क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन हो ।
अभियानको उद्घाटन कार्यक्रममा सातै मन्त्रालयका पर्यटन मन्त्री, स्थानीय पालिकाका प्रमुख, पर्यटन व्यवसायी, संरक्षणकर्मी, र सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । “घुम्न जाउँ बर्दिया” अभियानले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै प्रदेश विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज सँग सँगै जिल्ला कै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाउँ बर्दिया कार्यक्रम आयोजना गरिएको हो । देशका विभिन्न राष्ट्रिय निकुञ्ज भन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको, एकै दिनमा बाघ, गैँडा र जंगलीहात्तीको बथानका साथ साथै चित्तल जरायो बाह्रसिङ्गा विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ । उद्घाटन कार्यक्रममा लुम्बिनी सहित ७ वटै मन्त्रालयका पर्यटन मन्त्रीहरू, पालिका प्रमुख, राजनीतिक दल, संरक्षणकर्मी, पर्यटन व्यवसायी, सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता थियो ।