वार्षिक डेढ अर्ब डलर बराबरको राँगाभैँसीको मासु चीन निर्यात गर्ने समझदारी

काठमाण्डौ – नेपाल र चीनका निजी क्षेत्रबीच पहिलो चरणमा नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलर अर्थात नेपाली दुई खर्ब रुपैयाँ भन्दा धेरैको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ ।
काठमाण्डौमा हिजो आयोजित एक कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीसँगै पहिलो चरणमा वार्षिक डेढ अर्ब अमेरिकी डलर मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखिएको छ ।
हिमालयन फुड इन्टरनेशनलको सहकार्यमा छ अर्ब लागतमा पूर्ण स्वचालित आधुनिक पशु बधशाला आउँदो छ महिनाभित्र निर्माण सम्पन्न गर्ने पनि समझदारी बनेको छ । हिमालयन फुड प्रशोधित मासु निर्यातका लागि २०६८ सालमा स्थापना भएको थियो । कम्पनीले विभिन्न देशमा प्रशोधित मासु निर्यात गर्दै आइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गएको मङ्सिर १७ मा भएको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच प्रशोधित राँगाभैँसीको मासु चीन निर्यात गर्नेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो ।