श्रीमान–श्रीमतीको बेमेल बढ्दो !

पाल्पा, २३ मंसिर । जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दाहरू मध्ये ५० प्रतिशत सम्बन्ध विच्छेदका मुद्दाहरू दर्ता भएका छन् । पछिल्लो समयमा सूचना र प्रविधिको बिकास, वैदेशीक रोजगार जस्ता कारणले गर्दा पारिवारिक बेमेल भएका कारण सम्बन्ध विच्छेदका मुद्दाहरू बढदै गएको बताइएको छ ।
जिल्ला अदालत पाल्पाका सूचना अधिकारी केशव पराजुलीका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा दर्ता भएका मुद्दा मध्य ५० प्रतिशत पारिवारीक बेमेल रहेका छन् । गत आर्थिक १ हजार ३२ वटा मुद्दाहरू दर्ता भएकोमा ५ सय २४ वटा सम्बन्ध विच्छेदको रहेकोमा ४ सय ५५ वटा किनारा लागेको ६९ वटा बाँकी रहेका छन् । यसै गरी आर्थिक वर्ष ०७९ /०८० मा जम्मा १ हजार १७ वटा मुद्दा दर्ता भएकोमा ४ सय ३३ वटा मुद्दा सम्वन्ध विच्छेद रहेको सूचना अधिकारी केशव पराजुली बताउँछन् ।
नया पुस्ताका युवाहरू वैदेशीक रोजगारी तिर हुने यता परिवार सामाजिक सञ्जाल तर्फ आकर्षित हुने कति छन् । आज पनि नेपाली समाज पितृ सत्तात्मकको प्रभावका कारण कति महिलाहरू परिवारको थिचोमीचो सहन नसकेर सम्बन्ध विच्छेद गरी स्वतन्त्र रूपमा बाँच्न चाहेका कारण पारिवारीक बेमेल बढ्दो अवस्थामा रहेको कानुन व्यवसायी शिव देवकोटा बताउँछन् ।
पहिला पहिला जति परिवारमा हिंसा बढे पनि सहेर बस्ने प्रचलन पछिल्लो समयमा हटदै गएको कारणले स्वतन्त्र जिवन यापनको लागि कतै अंश लिएर र अंशै नलिइ श्रीमान श्रीमती बिच छुटकारा पाउनका लागि सम्वन्ध विच्छेद गर्नेको संख्या बढदै गएको कानुनी व्यवसायीहरू बताउँछन् । वैदेशिक रोजगारीका लागि श्रीमान श्रीमती टाढा टाढा हँदा कतै सामाजिक संजालका कारण कतै श्रीमानले अर्को घरजम गरेको त कतै श्रीमतीले अर्को घरजम गरेका कारण पारिवारीक बिखण्डन हुनेक्रम बढेको कानुन व्यवसायी केशव अधिकारी बताउँछन् ।
शहरी क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने महिला पुरुषको परिवारमा यस्ता समस्या देखिएको छ । आमा बाबुका बेमेलका कारण सदाका लागि सम्बन्धमा आएको फाटोका कारण बाल बच्चामा नकारात्मक प्रभाव पर्दै आएको, बालबालिका अभिभावक विहीन अवस्थामा पुग्दा बाल मनोविज्ञानमा नकारात्मक रूपमा त्यसको असर पर्न गएको शिक्षाकर्मीको भनाई छ ।