पशुपतिनाथमा आफैँ बत्ती बालेर बस्दा तिर्नुपर्ने छैन कुनै शुल्क!

सेयर गर्नुहोस

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र शतबीज छर्न कुनै शुल्क नलाग्ने जनाएको छ।

कोषले बालाचतुर्दशी पर्वका अवसरमा जानकारी दिन बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफैँ बसेर बत्ती बाल्नेका लागि कुनै शुल्क नलाग्ने बताए।

बत्ती बालेर हिँड्नेका लागि कोषले नै दुई हजार १०० को रसिद काटेर बत्ती कुरिदिने व्यवस्था गर्न लागेको उनले बताए। रातभर बसेर बत्ती बाल्नेलाई शुल्क लिन नपाइने र लिए कारबाही गर्ने कोषाध्यक्ष सुवेदीको भनाइ छ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बालाचतुर्दशीका अवसरमा बत्ती कुरिदिने सेवाका लागि कोषका कर्मचारीबाहेक अरुले अनधिकृत रूपमा पैसा उठाए सुरक्षामा खटिएका प्रहरीलाई जानकारी दिन आग्रह गरे। बत्तीको संकल्प गरेर फर्किनेलाई मात्र दुई हजार १०० शुल्क लिने उल्लेख गर्दै उनले सो शुल्क कोषका कर्मचारीले लिने बताए ।

बालाचतुर्दशीका अवसरमा महँगा गहना लगाएर नआउन, सिसा एवं काँचका भाँडा नल्याउन र ढुङ्गा छापिएका स्थानमा शतबीज नछर्न कोषले श्रद्धालुलाई आग्रह गरेको छ।

Facebook Comments Box