‘एनपीएलको प्रत्यक्ष प्रसारण सम्झौता अवैधानिक’

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौता अवैधानिक भएको सञ्चार क्षेत्रका तीन संस्थाले आरोप लगाएका छन्।
मंगलबार नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो यस्तो आरोप लगाएका हुन्। ‘राष्ट्रिय खेलहरु अन्तराष्ट्रियकरण समेत होस् भन्ने अपेक्षा राख्नु स्वाभाविक हो। तर यसपल्टको नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघले केही कानुनी र केही नैतिक तथ्यहरुमा निम्न अवैधानिक र गैर कानुनी अनि गैर व्यवसाहिक तथा अनैतिक क्रियाकलापहरु जानाजान वा भुलवश हुन गएको छ’, विज्ञप्तिमा भनिएको, ‘जसलाई उजागर गरेर ति अबैधानिक र अनैतिक हुने गल्ति र गैर कानुनी क्रियाकलापहरु तत्काल सच्चाउन र त्यस्ता कानुन बर्खिलाप हुने कार्य बन्द गर्न अनुरोध समेत गर्दछौं।’
नेपाल क्रिकेट संघले नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनलाई उल्लघंन गरेको आरोप यी संस्थाले निकालेको विज्ञप्तिमा उल्लेख छ। सम्झौता गर्दा भएका गल्तिहरु तत्काल सच्याउन समेत आग्रह गरिएको छ।