आज चतुर्मास पूरा हुने पूर्णिमा

सेयर गर्नुहोस

काठमाडौं : कार्तिक शुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा। पञ्चाङ्गका अनुसार शुक्रबार ५१ घडी ५४ पला पूर्णिमा तिथि छ।

वैष्णव परम्परामा चतुर्मास पूरा हुने दिनको रूपमा यसको महत्त्व छ। आषाढ शुक्ल एकादशी (वा पूर्णिमा) मा शुरु भएको चतुर्मास यसै दिन सम्पन्न हुन्छ। कार्तिक कृष्णपक्षमा शुरु भएको कार्तिकस्नान पनि यसै दिन समापन हुन्छ।

कार्तिक शुक्ल एकादशीका दिन शुरु भएको भीष्मपञ्चक पनि यही पूर्णिमामै पूरा हुन्छ।

कात्तिकको पूर्णिमाका अवसरमा सुनसरीको धरानस्थित बराहक्षेत्र, खोटाङको बराहपोखरी र डोटीको शैलेश्वरीमा धार्मिक मेला लाग्छ। काठमाडौं उपत्यकामा लागेको चारनारायणको मेला पनि शुक्रबार नै पूरा हुँदैछ।

पूर्णिमा तिथि किन महत्त्वपूर्ण?

पूर्णिमा तिथि अर्थात् चन्द्रमा पूर्ण देखिने दिन। सनातन संस्कृति र रहनसहनका कतिपय पक्षहरूसँग पूर्णिमा तिथि गाँसिएको छ। वैदिक ग्रन्थहरूले पनि पूर्णिमालाई ठूलो पर्व मानेका छन्। हिन्दुहरूको आदिग्रन्थ वेदको एक अंग मानिने वेदांग ज्योतिषले सम्पूर्ण शुभकर्म गर्नको लागि शुक्लपक्ष नै उत्कृष्ट मानेको छ।

महिनाको एउटाको हिसाबले वर्षमा बाह्रवटा पूर्णिमा हुन्छन्। चन्द्रमाको कला बढ्दै गएर पूर्ण हुने पक्षलाई शुक्ल र पूर्ण भएको चन्द्रमाको कला घट्दै गएर चन्द्रमा नै नदेखिनेसम्मको अवधिलाई कृष्ण पक्ष भनिन्छ। चन्द्रमा पूर्ण भएको तिथि नै पूर्णिमा हो।

औँसीमा पितृकार्य गरिएजस्तै देवीदेवतासम्बन्धी अनुष्ठानका लागि पूर्णिमाको महिमा छ।

Facebook Comments Box