सिलौटो बनाएर मासिक ४० हजार कमाउँछन् इटहरीका अनिल

धरान : सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटो लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्छन्।
सन्तराजले यही व्यवसायबाट जीविकोपार्जन गर्दै आएका छन्। ‘सिलौटो बनाउने हाम्रो पुर्ख्यौली पेशा हो। तीन पुस्तादेखिकोपेशालाई निरन्तरता दिइरहेको छु।’
इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दैआएका छन्। नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको सहायताबाट उनले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दै आएका छन्। उनले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राखेका छन्।
‘विदेशमा गएर दुःख गर्नुभन्दा यही पुर्ख्यौली पेशा बाट आम्दानी गर्दै आएको छु। दिनभर यही बसेर सामग्री तयार गर्छु’, उनले भने,‘अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ। आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ।’
सन्तराज दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँछन्। ‘कहिले चार-पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन। व्यापार हो, सधैँ एकनास हुँदैन’, उनले भने। लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्छन्। सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उनले बताए।
व्यापारबाट घर खर्च कटाएर मासिक रु ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी बताए। उहाँले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाएका छन्। छोराले पनि उनलाई साथ दिने गरेका छन्।
सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गर्नुभएको छ। एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ। उहाँले एउटा सिलौटो चार सयदेखि ५५० सम्ममा बिक्री गर्ने गर्छन्। एक जोर जाँतो एक हजारदेखि १३ सय रुपैयाँसम्ममा बिक्री गर्छन्। कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै आफ्नो व्यवसाय सङ्कटमा परेको सन्तराजको गुनासो छ।