दुई हप्तामा घट्यो ५ डिग्री सेल्सियस तापक्रम

सेयर गर्नुहोस

काठमाडौं : अहिले मनसुन बाहिरिएर ‘पोष्ट’ मनसुन चलिरहेको छ। पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ।

मौसमविदले मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको बताएका छन्। गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो। दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ। संघीय राजधानी काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिकरूपमा बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात सोमबार र मंगलबार न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस हाराहारी छ। ‘काठमाडौँमा चिसो निरन्तररूपमा बढिरहेको छ’, मौसमविद अधिकारीले भने, ‘पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ।’

काठमाडौंसहित देशका अधिकांश स्थानमा तापक्रम घट्ने क्रम छ। मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घटेको बताए। पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box