कान्ति लोकपथ आजदेखि सञ्चालनमा

काठमाण्डौ – बाढी पहिरोले ठप्प रहेको कान्ति लोकपथ आजदेखि सञ्चालनमा आएको छ । बाग्मती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडक पुनर्निर्माण गरेपछि आजदेखि गाडी सञ्चालनमा आएको हो । १० दिनदेखि बन्द रहेको सडक आज बिहानदेखि खुले पनि दिउँसोदेखि मात्र व्यवस्थित रूपमा गाडी गुड्न थाल्ने कान्ति लोकपथ आयोजनाका इन्जिनियरले बताएका छन् ।
नेपाली सेना चार दिनदेखि त्यहाँको पुलको पहुँचमार्ग र क्षतिग्रस्त पुनर्निर्माण गर्न खटिएको थियो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले कान्ति लोकपथ र बाग्मती पुल क्षतिग्रस्त बनाएको थियो ।
कान्ति लोकपथ सञ्चालन आएसँगै हेटौँडा र काठमाण्डौलाई जोड्ने सबै सडक सञ्चालनमा आएका छन् । हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीका हेटौँडा–फाखेल–काठमाण्डौ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ सडक यसअघि नै सञ्चालनमा आएका छन् ।