दसैँलक्षित सुरक्षा योजना : लुम्बिनीमा ७ हजार ६ सय प्रहरी परिचालन

सेयर गर्नुहोस

दाङ — दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै लुम्बिनी प्रदेश प्रहरीले १२ जिल्लामा चाडपर्व सुरक्षा योजना लागु गरेको छ। प्रहरीले विभिन्न ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनदेखि सीमावर्ती जिल्लाहरुमा ड्रोन क्यामेराबाट सुरक्षा निगरानीसम्मका सुरक्षा योजना लागु गरेको छ ।

 

लुम्बिनी प्रहरी कार्यालय प्रमुख डीआईजी कुवेर कडायतले प्रदेशका १२ जिल्लामा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न ७ हजार ६ सय ४४ प्रहरी परिचालन गरिएको बताए ।

२६ प्रकारको डिउटीको नाममा प्रहरी जनशक्ति खटाइएको उनले बताए । प्रहरीसँग सीमा नाकामा तालिमप्राप्त कुकुर पनि परिचालन गरी चेकिङ गर्ने र भीडभाड हुने ठाउँमा ड्रोन क्यामरा प्रयोग गरेर निगरानी बढाइएको उनले बताए ।

चाडपर्वमा लाग्ने मेला, पर्वको सुरक्षा तथा जुवाजन्य अवैध गतिविधि नियन्त्रण गर्ने, चाडपर्वको समयमा हुन सक्ने होहल्ला, चोरीलुटपाट, झगडा, डकैटी, यौनजन्य अपराध लगायत विभिन्न किसिमका अपराधिक गतिविधिहरु हुन र गर्न नदिने उनले बताए । सम्भाविक आर्थिक अपराधहरु नियनत्रण र न्यूनीकरण, सहज र सरल सवारी आवागमन एवं सुदृढ ट्राफिक व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक द्धन्द्ध हुन नदिई सामाजिक सदभाव कायम राख्न सहयोग पुर्‍याउने, बजारमा कृतिम अभाव सृजना तथा कालोबजारी हुन र गर्न नदिइने सुरक्षा योजनामा उल्लेख छ ।

चाडपर्व लक्षित सुरक्षा गतिविधिलाई कडाई गरिएको उनको भनाई छ । चाडपर्व सुरक्षा अन्तरगत १ सय ५ ठाउँमा ‘क्युआरटी’ (क्वीक रेस्पोन्स टिमी) छन् । जसमा ४ सय ७४ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।

बैंक तथा वित्तीय कारोबार धेरै हुने ४८ स्थानमा २ सय १८ जना प्रहरी परिचालन गरिएको छ । लुम्बिनी प्रदेशका सरकारी कार्यालय सुरक्षाका लागि ४ सय ४८ ठाउँमा १ हजार ४ सय २० जना, ४२ ठाउँमा सादा पोशाकमा १ सय १२ जना प्रहरी र २ सय ६५ वटा मोटरसाइकलमा गस्ती टोली बनाएर ४ सय ६१ जना प्रहरी परिचालन गरिएको कडायतले बताए ।

त्यस्तै १ सय ६० वटा पैदल गस्ती टोली बनाएर ४ सय ९१ ज्ना प्रहरी परिचालन भएका छन् । सडक राजमार्गका चौबिसै घण्टा ६३ ठाउँमा विशेष चेकिङ गरिने र त्यसका लागि २ सय ८७ प्रहरी खटाएको र प्रदेश लोकमार्गमा १ सय ५४ जना प्रहरी परिचालन गरिने उनले बताए ।

 

राजमार्ग स्कटिङका लागि २७ वटा टोली बनाएर १ सय ५४ जना प्रहरी खटाउने, लुम्बिनी प्रदेशभरी ५१ स्थानमा यात्रु सहायता कक्षा राखिएको र जसमा १ सय ६० जना प्रहरी खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बजारमा कृत्रिम आव तथा कालोबजारी हुन नदिन ४० वटा टोली गठन गरेर २ सय १२ जना प्रहरी खटाइएको र ग्रामीण क्षेत्रमा २ सय ७२ जना प्रहरीलाई गस्तीमा खटाउने तयारी रहेको छ ।

चाडपर्वमा ट्राफिक व्यवस्थापन गर्ने रणनीति अनुसार ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली विभिन्न स्थानमा रहनेछन् । नेपाल प्रहरीले पूर्वपश्चिम लोकमार्ग सहित अन्य सडक क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न विशेष निगरानी अभियान चलाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कडायतले सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, आरक्षण सिटको कार्यान्वयन, तीव्र गतिमा गुड्ने सवारी साधनलाई निगरानीमा राख्ने जस्ता कामहरु भइरहेको बताए । सडक दुर्घटनाबाट हुने मानवीय क्षतीलाई घटाउने, चोरी, डकैती, लुटपाट जस्ता कुनै अपराधिक काम हुन नदिने, यात्रुहरुको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने गरी चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको उनले बताए ।

केही दिन अघि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई दाङमा संयुक्त भेटघाट गरेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चाडपर्व लक्षित सुरक्षा योजना बनाउन छलफल गरेका थिए । सबै नागरिकलाई सुरक्षित तवरले गन्तव्यमा पुग्न र दसैँ मनाउन विशेष सुरक्षा योजना लागु गर्ने योजना आचार्यले बनाएका थिए ।

दसैँ लगायतका चाडपर्वलाई लक्षित गर्दै लुम्बिनी प्रदेशका १२ जिल्लामा विशेष सुरक्षा योजनालाई प्रभावकारी रुपमा ध्यान दिन लुम्बिनीका मुख्यमन्त्री आचार्यले मातहतका निकायलाई निर्देशन दिएका छन् । चाडपर्व लक्षित गरेर प्रहरीले विभिन्न ठाउँमा यात्रु सहायता कक्षा सञ्चालन देखि जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा रणनीति लागु गर्न थालेका छन् ।

मुख्यमन्त्री आचार्यले सहरबाट दसैँतिहार लगायतका पर्व मनाउन गाउँको घरमा जाने, स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट चाडपर्व मनाउन घर फिर्ने यात्रुलाई यातायातमा सहज र अवरुद्ध सडकलाई मर्मत सुधार गरेर सहज गर्न प्रशासनिक निकाय र स्थानीय तहलाई निर्देशन दिएका हुन् ।

वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राखेर बाटो सोहोर्न, गाडीमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता विषय र शान्ति सुरक्षा जस्ता काममा सुरक्षा निकायलाई अनुरोध गरेका छन् ।

चार्डपर्वको समयमा मानिसहरुको आवतजावत हुने हुँदा सवारी साधनमा चापमा यात्रु ठगिन सक्ने, यात्रा असहज हुन सक्ने जस्ता गतल काम हुन नदिन चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गरिँदै सुरक्षित यात्रालाई सुनिश्चित गरिनुपर्ने उनले बताए ।

Facebook Comments Box