रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई हटाउन आदेश दिएका छन्। अधिकारीहरूले युद्धबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई टाढा सारिएको बताएपछि पुटिनले सोमबार यो आदेश दिएका हुन्।
किएभले अघिल्लो मंगलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आश्चर्यजनक आक्रमण शुरु गर्दै दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा सबैभन्दा महत्त्वपूर्ण सीमापार आक्रमणमा दुई दर्जनभन्दा बढी बस्ती कब्जा गरेको थियो ।
‘द्वन्द्व सिर्जना गर्नु, मानिसहरूलाई त्रास देखाउनु, रुसी समाजको एकतालाई नष्ट गर्नु दुश्मनको स्पष्ट लक्ष्य हो’, पुटिनले सरकारी अधिकारीहरूसँगको टेलिभिजन बैठकमा भने, ‘निसन्देह, रक्षा मन्त्रालयको मुख्य काम भनेको दुश्मनलाई हाम्रो क्षेत्रबाट लखेट्नु हो।’
क्षेत्रीय गभर्नर एलेक्सी स्मिरनोभले पुटिनसँगको बैठकमा लडाइँ शुरु भएपछि करिब एक लाख २१ हजार मानिस कुर्स्क क्षेत्रबाट भागेको, कम्तीमा १२ जना मारिएको र १२१ भन्दा बढी घाइते भएको जानकारी दिए।
कुर्स्कका अधिकारीहरूले १४ हजार बासिन्दा भएको बेलोभ्स्की जिल्लालाई समावेश गर्न आफ्नो निकासी क्षेत्र फराकिलो बनाउँदै गरेको घोषणा गरेका छन्। छिमेककी बेल्गोरोड क्षेत्रले पनि आफ्नो सीमावर्ती जिल्ला क्रास्नोयारुज्स्कीलाई खाली गरिरहेको बताएको छ।
युक्रेनले यस क्षेत्रमा कम्तीमा १२ किलोमिटरभित्र पसेर ४० किलोमिटर लामो नयाँ मोर्चाका साथ २८ वटा सहर र गाउँ कब्जा गरेको स्मिरनोभले बताए।
यो अभियान रुसी सेनालाई तन्काउन र अग्रपङ्क्तिमा महिनौँको सुस्त रुसी प्रगतिपछि देशलाई अस्थिर बनाउनका लागि भएको युक्रेनका एक शीर्ष अधिकारीले बताएका थिए।
पुटिनले ‘दुःखमा परेका सबैलाई सर्वसम्मत समर्थन’ देखाएर जवाफ दिने भन्दै त्यहाँ लड्नभर्ती हुने पुरुषहरूको सङख्या बढेको दाबी गरे। ‘दुश्मनले उचित जवाफ पाउनेछ’, उनले भने।
3