खग प्रसाद चापागाई
कपिलवस्तु, १२ साउन ।
कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयले व्यवसायी सँगको सेटिङ्गमा तिन वटा भारतिय गाडीलाई क्वारेन्टाईनको छुटपुर्जी (क्लिनचिट) बिनै प्रज्ञापनपत्र जारी गरेर जाँच पास गरेको भेटिएको छ । साउन ९ गते भारतबाट आँप ल्याएका तिनवटा गाडीलाई क्वारेन्टाईन छुटपुर्जी बिनै भन्सारले जाँचपास गरि छोडे पछि शसस्त्र प्रहरी र कृष्णनगर क्वारेन्टाईन टोलीको नियन्त्रणमा लिई १ लाख ५० हजार रूपैयाँ जरिवाना राजश्व असुल गरेको छ ।
कपिलवस्तुको तौलिहवामा आँप लिएर आउँदै गरेको एउटा र बुटवलमा आँप लिएर जान थालेको दुई वटा भारतिय मालबाहक ट्रकलाई भन्सारले मिलेमतोमा नियम बिपरित प्रज्ञापनपत्र जारी गरि जाँचपास गरेको थियो । भन्सारबाट क्वारेन्टाईन बिनै जाँचपास भएको गाडीलाई कृष्णनगर क्वारेन्टाईन कार्यालयको आग्रहमा शसस्त्र प्रहरीको टोलीले बिद्युत प्राधिकरण कृष्णनगर बितरण केन्द्र अघि रहेको चेक पोष्टबाट नियन्त्रणमा लिएको थियो ।
टोलीले प्लान्ट क्वारेन्टाईनबाट फलफुलको बायो सेफ्टी परिक्षण नगरीएका र छुटपुर्जि नभएका युपी १२ एटी ३४७१, युपी १५ एचटी ११८२ र युपी ३२ एसएन ८६२४ नम्बरको भारतिय मालबाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो । प्लान्ट क्वारेन्टाईन कार्यालयले दिएको सुचनाको आधारमा क्वारेन्टाईन टोली र सशस्त्र प्रहरीको प्रस्तावित सिमा सुरक्षा गुल्म कृष्णनगरको टोलीले आँप बोकेको मालबाहक ट्रकलाई नियन्त्रणमा लिएको गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेले जानकारी लिए । नियन्त्रणमा लिईएका मालबाहक ट्रकलाई प्रति ट्रक ५० हजार रूपैयाँका दरले प्रशासनिक दण्ड, जरिवाना र जफत शिर्षकमा जरिवाना राजश्व असुल गरिएको हो । नियन्त्रणमा लिई जरिवाना राजश्व असुल गरिएको आँप लोड गरेको भारतिय ट्रक मध्य युपी १२ एटी ३४७१ र युपी १५ एचटी ११८२ ले सिद्ध बाबा ट्रेडिङ्ग बुटवल रूपन्देही र युपी ३२ एसएन ८६२४ नम्बरको गाडीले एम.वि. फ्रुट सेन्टर बुटवल रूपन्देहीको नाममा सो फलफुल ल्याएको देखिएको छ ।
भंसारमा एकद्वार प्रणालीमा आधारित आशिकुडा प्रबिधिमा पशु क्वारेन्टाईन, खाद्य क्वारेन्टाईन र प्लान्ट क्वारेन्टाईनको छुट पुर्जि बिना प्रज्ञापनपत्र जारी गर्न नपाउने व्यवस्था छ । प्लान्ट क्वारेन्टाईनले यसरी नेपाल आउने फलफूलमा बिषादी भएको, रोगकिरा लागे नलागेको बिषयमा बायोसेप्टी परिक्षण गर्छ । परिक्षण पश्चात क्वारेन्टाईनले दिएको क्लिन चिटको आधारमा मात्रै भन्सारले प्रज्ञापनपत्र जारी गर्नुपर्ने व्यवस्था छ । क्वारेन्टाइन चेक भएपछि मात्र फलफूल, तरकारी, खाद्यान्न जस्ता कृषि उपज नेपाल भित्राउनुपर्ने कानूनी प्राबधान छ । तर भंसारले व्यवसायीको मिलेमतोमा नियम मिचेरै क्वारेन्टाईन छुट पुर्जि बिनै प्रज्ञापनपत्र जारी गरि त्यस्ता सवारी साधनको जाँचपास गर्ने गरेको छ । भंसारले क्वारेन्टाईनलाई बाईपास गरेर नियम बिपरित प्रज्ञापनपत्र जारी गरि भंसार जाँचपास गरेकोमा क्वारेन्टाइन कार्यालय कृष्णनगरका प्रमुख बुद्धिराम भट्टराईले आक्रोस पोखे । भन्सारले क्वारेन्टाईनको क्लिन चिट बिना प्रज्ञापनपत्र जारी गरि जाँच पास गर्ने कार्य चरम लापरवाही भएको उनले बताए । “यस अघि पनि यस्ता गतिबिधी हुने गरेको थियो । आज सो सवारी साधन नियन्त्रणमा लिन सफल भएका छौं । यसै बर्ष क्लिन चिट नदिएका १५ वटा मालवाहक सवारीलाई सस्पेन्ट गरेको छु ।” उनले भने ।
सो बिषयमा प्रतिक्रिया लिँदा कृष्णनगर भन्सार कार्यालयका प्रमुख मान बहादुर पौडेलले क्वारेन्टाईन बिनै भन्सार जाँचपास भई क्वारेन्टाईनको टोलीले आँपका तीन वटा गाडी नियन्त्रणमा लिएको बिषय आफुलाई जानकारी नभएको बताए । भन्सार ऐजेन्टले एउटै प्रज्ञापनपत्रमा ५/६ वटा सवारी भित्राउँदा क्वारेन्टाईनको पत्र छुटेको वा गेटमा जाँचपाँस गर्ने जाँचकीबाट कुनै त्रुटी भएको हुन सक्ने उनले बताए । भंसार प्रमुखको गैर जिम्मेवार भनाईले समेत क्वारेन्टाईन बिना प्रज्ञापनपत्र जारी गर्ने र जाँचपास गर्ने बिषयमा व्यवसायी र भंसार कर्मचारीको मिलेमतोको आशंका बढाएको छ ।
3