२६ भाद्र २०८१, बुधबार

अपहरणको मुद्दा खेपेका बादशाह कुर्मीलाई लुम्बिनीमा मन्त्री उपहार !

बुटवल, ९ साउन ।

बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा आरोपित कुर्मी मन्त्री बनेका हुन् । उनीसहित ८ जना बिनाविभागीय मन्त्रीले आज शपथ लिए । जानकी गाउँपालिका परस्पुरकी निर्मला कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन् ।

सरकारी प्रतिवेदनबाट पनि बादशाह दोषी देखिएको दाबी उनीहरूले गरेका छन् । बादशाह नेपाली कांग्रेसका प्रदेश सांसद हुन् । २०७५ मा एकाएक हराएकी निर्मलाको जग्गा हत्याउन कुटपिट गर्ने र अपहरण गरी बेपत्ता पार्नेमा गृह मन्त्रालयको प्रतिवेदनले नै बादशाहको नाम उल्लेख गरेको छ । तर, पहुँचका भरमा कारबाहीबाट बच्दै आएका उनी यसपटक मन्त्री बन्ने भाग्यमानीमा परेका छन् ।

  • निर्मला कुर्मीमाथि दुर्व्यवहार गर्दै गरेको तस्बिर २०६६ माघ २० गते लुम्बिनी प्रदेश सरकारका मन्त्री वादशाह कुर्मी । तस्बिर सौजन्यः महिला अधिकार मञ्च बाँके

निर्मला कुर्मीको न्यायको अभियान चलाएकी अधिकारकर्मी रुवी खानले न्यायको आन्दोलनमा सरकारले पटक–पटक धोका दिएको र मान्छेको हत्या गर्ने जस्तो जघन्य अपराधमा सम्लग्नलाई पुरस्कार दिएको भन्दै आफूहरूको आन्दोलनमा साथ दिन सबैलाई आग्रह गरेकी छन् । पछिल्लोपटक अधिकारकर्मी रुवी खानलगायत १२ जना अधिकारकर्मीहरू अनशन बसेपछि तत्कालीन गृहमन्त्री रवि लामिछानेले लिखित सहमति गरेर अपराधमा सम्लग्न जोसुकै भए पनि कानुनको दायरामा ल्याउने बचन दिएका थिए ।

१८ दिन अनशन बसेका रुवी खानहरू अनशन तोडेर नेपालगञ्ज फर्केपछि उक्त सहमति मन्त्रालयमै थन्किएको गुनासो रुवी खानको छ ।

धेरै कमेन्ट गरिएका