२५ मंसिर २०८१, मंगलवार

चिनियाँले लिएका परियोजनामा समस्यैसमस्या , गाेरुसिंगे-बुटवल सडक निर्माण फेरि चिनियाँ कम्पनीकै हातमा

काठमाडौँ । सडक पूर्वाधारमा सबैभन्दा बढी ठेक्का लिनेमा चिनियाँ कम्पनी छन् । तर, तिनले लिएका प्रायः ठेक्काको प्रगति भने निकै सुस्त देखिएको छ भने कतिपयको पटक–पटक म्याद थप गर्दा पनि काम अघि बढ्न सकेको छैन ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ठेक्का लिएको १ सय १३ किमि नारायणगढ–बुटवल सडकखण्ड विस्तारको अवस्था सन्तोषजनक छैन । उक्त सडकखण्डको प्रगति नहुँदा २०७९ असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिइयो । तर ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । ठेकेदार कम्पनीले काम अघि बढाएन, बरु ढाँटिरह्यो । काममा प्रगति नभए पनि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थप गरियो ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा स्तरोन्नतिको ठेक्का लागेको हो । २०७५ पुस ५ मा सुरु भएको ठेक्काअनुसार २०७९ साउन २२ भित्र काम सकिसक्नुपर्ने हो । तर ५ वर्ष बित्दा पनि भौतिक प्रगति भने ४३ प्रतिशत मात्रै छ । सम्झौताअनुसार यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । ठेक्का लिएर समयमै काम नसक्ने कम्पनीका रूपमा चिनिएको उक्त कम्पनीले देशका अन्य ठूला सुरुङ निर्माणको पनि ठेक्का एकपछि अर्को गर्दै हात पारिरह्यो ।

चाइना स्टेट कन्स्ट्रक्सनले काठमाडौं तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको ठेक्का लिएको छ । उक्त कम्पनीले छोक्रेडाँडादेखि धद्रेसम्म सुरुङ निर्मााण्को ठेक्का लिएको हो । अर्को चिनियाँ कम्पनी पोली च्याङ्दाले पनि फास्ट ट्र्याककै धद्रेदेखि लेनडाँडासम्म सुरुङ निर्माणको ठेक्का लिएको छ । दुवैको ठेक्का तीन वर्षभित्र सक्ने गरी २०७८ वैशाख ३१ मा सम्झौता भएको हो । समयमै र गुणस्तरीय काम नगरेको भन्दै यी कम्पनी २०७९ जेठ ९ मा निलम्बनमा परेका थिए । तर पछि तिनै कम्पनीबाटै काम गराइएको छ । म्याद सकिन साढे तीन महिना मात्रै बाँकी रहँदा सुरुङ निर्माणको प्रगति ५६ प्रतिशत मात्रै छ । चाइना स्टेटले २१ अर्ब ६१ करोड रुपैयाँमा ठेक्का पाएको हो । पोली च्याङ्दाले भने २८ अर्ब ५३ करोड रुपैयाँमा ठेक्का लिएको हो । छोक्रेडाँडादेखि धद्रेसम्म ३.३५५ र धद्रेदेखि लेनडाँडासम्म ३.०३ किमि सुरुङ निर्माण गर्नुपर्ने हो । चाइना स्टेटले नै सिद्धबाबा सुरुङ मार्गको ठेक्का लिएको छ । यसको ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ ।

सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले समयमै काम नगर्ने कर्पोरेसनलाई ५ वर्षभित्र सुरुङको निर्माण गर्ने गरी ठेक्का दिएको हो । ३ सय मिटर आपत्कालीन सुरुङमार्ग पनि निर्माण गर्नुपर्नेछ । मुख्य सुरुङको दूरी १.१ किमि हुनेछ । यसको ठेक्का २०७८ फागुनमा भएको हो । अहिलेसम्म भौतिक प्रगति करिब १० प्रतिशत रहेको आयोजनाको भनाइ छ । डिजाइनमा ९ महिना र स्वीकृत गर्न थप ३ महिना लागेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए । ‘अहिले निर्माणको काम जारी छ,’ उनले भने ।

कञ्चनपुर–कमला सडकको ठेक्का पनि चिनियाँ कम्पनीले नै लिएको छ । चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कम्पनीले १५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का लिएको हो । ८६.८२ किमि दूरीको कञ्चनपुर–कमला खण्डको ठेक्का सम्झौता २०७७ कात्तिक १३ मा भएको हो । सम्झौताअनुसार २०८० कात्तिक ११ भित्र निर्माण सकिसक्नुपर्ने हो । अहिलेसम्म निर्माण प्रगति ४१.४७ प्रतिशत मात्र छ । यहाँ दुई भागमा निर्माणको जिम्मा लगाइएको छ । एडीबीको ऋण सहयोगमा निर्माण थालिएको हो ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको दूरी ८२ किमि छ । यसअन्तर्गत स्याफ्रुबेसी–रसुवागढी खण्डको दूरी मात्र १७ किमि छ । जुन खण्ड चीन सरकारले अनुदानमा निर्माण गर्ने भनिए पनि कोभिड अघिदेखि रोकिएको काम सुरु हुन सकेको छैन । अहिलेसम्म यो खण्डमा प्रगति नभएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । ‘काम गर्न भन्दै ३ महिनाअघि समझदारी भएको थियो,’ उनले भने, ‘तर चिनियाँ टोलीले अहिलेसम्म काम गरेका छैनन् ।

यता चक्रपथ दोस्रो खण्ड विस्तारको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) एक वर्ष बित्दा पनि अझै चिनियाँ कम्पनीले पूरा गर्न सकेका छैनन् । डीपीआर तयार नहुँदा विस्तारको काम अघि बढ्न नसकेको हो । दुई महिनाभित्र तयार पार्ने भन्दै २०७९ फागुनमा डीपीआरको काम थालिएको थियो । चीन सरकारको अनुदानमा चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को विस्तार गर्न लागिएको हो । यसअनुसार डीपीआर निर्माणको काम चीनले नै गरिरहेको छ ।

गत फागुनमा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीका प्राविधिक टोलीले डिजाइनको जिम्मा लिएको थियो । त्यति बेलै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई महिनाभित्र डिजाइनको काम सकिने जनाएको थियो । तर अझै डिजाइन फाइनल हुन सकेको छैन । चीन सरकारको अनुदानमा गर्ने भनिएको चक्रपथ विस्तारको काम पनि अघि बढ्न नसकेको सडक विभागले जनाएको छ ।

‘कस्तो सडक निर्माण गर्ने भन्नेबारे दुई देशबीच समझदारी भइसकेको छ, ६ महिनाभित्र डिजाइन आउने अपेक्षा थियो, तर आएन,’ विभागका महानिर्देशक ढकालले भने, ‘यो सबैको चासोको विषय हो, चिनियाँ दूतावासमा यसबारे जानकारी लिँदा छिट्टै डिजाइन टुंगिने बुझिएको छ ।’ कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब यसलाई ८ लेनमा विस्तार गर्न लागिएको हो ।

चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धरासम्म मात्र सडक विस्तार गर्ने उल्लेख छ । सोहीअनुसार चीनले कलंकीदेखि बसुन्धरा कल्भर्टसम्मको ८.२ किमि खण्डको मात्रै काम गर्ने भएको हो । चिनियाँ टोलीले काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन गरेको पाँच वर्ष पुग्न लाग्दा पनि यसमा थप प्रगति छैन । ०७६ फागुनमा आएको टोली माघमा अध्ययन सकेर चीन फर्किएको थियो । त्यसपछि यसमा कुनै प्रगति हुन सकेन ।

प्रारम्भिक अध्ययनमा टोलीले फिल्ड अवलोकन, तथ्यांक संकलन, गल्छी र बालाजु सडकको अध्ययन गरेको थियो । सुरुमा सुरुङको दूरी ७ किमि हुने भनिएको थियो । तर प्राविधिक टोलीले चार किमि हुन सक्ने प्रारम्भिक अध्ययनका क्रममा जानकारी गराएको थियो । सुरुङ निर्माण चीनबाटै हुने भनिए पनि प्रगति छैन । चालु आवमा उक्त सुरुङमा वातावरणीय प्रभाव मुल्यांकन अध्ययनमा बजेट छुट्याइए पनि काम भएको छैन ।

पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकखण्ड स्तरोन्नतिको काम थालेको तीन वर्षमा भौतिक प्रगति निराशाजनक छ । आँबुखैरेनी–जामुने पहिलो (पूर्वी) र जामुने–पोखरा दोस्रो (पश्चिम) गरी दुई खण्डमा विभाजन गर्दै ०७७/७८ मा यसको ठेक्का भएको हो । ०८१/८२ भित्र सकिसक्नुपर्ने गरी १३ अर्ब ६ करोड रुपैयाँमा ठेक्का भएको हो । एडीबीको ऋण सहयोगमा सडकलाई ४ देखि ६ लेनमा स्तरोन्नति गर्न र ७ ठूला तथा २२ साना पक्की पुल निर्माण गर्ने गरी ठेक्का लगाइएको हो ।

पहिलो खण्डको ठेक्का चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसन र दोस्रो (पश्चिम) खण्डको ठेक्का यान हुई कन्स्ट्रक्सनले लिएको हो । पहिलो खण्डको भौतिक प्रगति करिब ४४ प्रतिशत रपश्चिम खण्डको १४ प्रतिशत मात्र छ । चाइना ओभरसिज इन्जिनियरिङले लिएको सुनकोसी मरिन डाइभर्सनमा भने अन्य आयोजनाका तुलनामा प्रगति सन्तोषजनक रहेको जनाइएको छ । चीन सरकारबाट बनाउने भनिए पनि २२० केभीको रसुवागढी–केरुङ प्रसारण लाइनको काममा पनि प्रगति छैन । यसको दूरी ११ किमि छ । ‘चिनियाँ कम्पनीले लिएका सडकका ठेक्कामा सोचेअनुसार प्रगति छैन, अधिकांश सडकमा यो समस्या छ,’ सडक विभाग स्राेतले मिडियामा प्रतिक्रिया जनाउदै आएका छन।
हालै बुटवल-गाेरुसिंङे सडक निर्माणकाे ठेक्का पनि चिनियाँ कम्पनीले हात पारेकाे छ तर कम कति दिनमा सिद्धिन्छ , सराेकारवालालाई शंका हुन थालेकाे छ ।

हालसम्म चिनियाँ कम्पनीले ठेक्का लिएका नारायणगढ–बुटवल सडकखण्ड विस्तार, तराई/मधेश द्रुतमार्गमा सुरुङ निर्माण, कञ्चनपुर–कमला सडक निर्माण, स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड, चक्रपथ विस्तार, टोखा–छहरे सुरुङमार्ग, पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकखण्ड स्तरोन्नति, रसुवागढी–केरुङ प्रसारण लाइनलगायतको भौतिक प्रगति निराशाजनक छन ।

 

धेरै कमेन्ट गरिएका