८० खानी खोजी गर्न अनुमति, आठवटामा उत्खनन

सेयर गर्नुहोस

काठमाडौं : खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजी लागि अनुमति दिएको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरेको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए।

विभागले आठवटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ। चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताए।

यस्तै, दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलिङ कार्य सञ्चालन भइरहेको विभागले जनाएको छ । हालसम्म ९५१ मिटर ‘ड्रिलिङ’ कार्य सम्पन्न भइसकेको छ ।

विभागले चालू आवमा देशका विभिन्न भूभागमा चार रेक्टर स्केलभन्दा माथिका ५७ भूकम्प मापन भएको समेत जनाएको छ । विभागले यस अवधिमा गोरखाको बारपाकमा भूकम्प तथा पहिरोसम्बन्धी अभिमुखीकरण, मधेश प्रदेशअन्तर्गत जीतपुर सिमरा र आसपासका क्षेत्रको भूइन्जिनियरिङ तथा भूवातावरणीय अध्ययन गरिएको पनि बाँस्कोटाले जानकारी दिए।

पहिलो चरणमा सुर्खेतस्थित चुनढुङ्गा खानीको प्रवर्धन सम्पन्न गरेको र यो समयमा ५८ करोड ७४ लाख राजस्व संकलन गरेको विभागले जनाएको छ ।

Facebook Comments Box