स्लोभेनियासँग पोर्चुगलको संघर्षपूर्ण जित

सेयर गर्नुहोस

काठमाडौं : गोलरक्षक डिओगो कोस्टाले तीन पेनाल्टी बचाउँदा पोर्चुगल युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

गएराति भएको खेलमा स्लोभेनियासँग निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो। टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३–० ले विजयी भयो।

निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए। रोनाल्डोको प्रहारलाई विपक्षी कप्तान यान ओब्लाकले विफल पारेका थिए।

त्यसपछि स्लोभेनियाका बेन्जामिन सेस्कोले स्लोभेनियालाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले। टाइब्रेकरमा स्लोभेनियाका जोसिप इलिचिचको पहिलो प्रहार डिओगो कोस्टाले विफल पारे। लगत्तै क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरे। कोस्टाले त्यसपछि दुवै पेनाल्टी बचाउँदा ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले गोल गर्दै जित पक्का गरे।

पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ। फ्रान्सले गएरातिनै सम्पन्न खेलमा बेल्जियमलाई १–० ले हराएको थियो। राउन्ड अफ १६ मा खनज राति रोमानियाले नेदरल्यान्ड्स तथा अष्ट्रियाले टर्कीसँग खेल्नेछ। यी खेलको विजेताले क्वाटरफाइनलमा एक अर्कासँग खेल्नेछन्।

क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा जर्मनी र स्पेन खेल्ने पक्का भइसकेको छ।

Facebook Comments Box