मदिरा सेवनकै कारण बर्सेनी २६ लाखले गुमाउँछन् ज्यान

सेयर गर्नुहोस

मदिरा सेवनका कारण विश्वभर बर्सेनी करिब २६ लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्रतिवेदनले देखाएको छ।

मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण प्रत्येक वर्ष यो संख्यामा मानिसको मृत्यु हुने गरेको हो।

उपलब्ध पछिल्लो आँकडाअनुसार सन् २०१९ मा २६ लाख मृत्यु मदिरा सेवनका कारण भएको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष विश्वभरमा भएका सबै मृत्युको ४.७ प्रतिशत थियो । यसमा करिब तीन चौथाई मृत्यु पुरुषहरूको भएको थियो ।

‘मादक पदार्थको प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीररूपमा क्षति पुर्याउँछ, दीर्घकालीन रोग, मानसिक स्वास्थ्य अवस्थाको जोखिम बढाउँछ र दुःखदरूपमा हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुन्छ जसलाई रोक्न सकिन्छ’, डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने।

सन् २०१० पछि विश्वभरमा मदिराको खपत र सम्बन्धित हानिमा केही कमी आएको उनले बताए। युवा असमानरूपमा प्रभावित भएको जनाउँदै उनले भने, “तर मदिराको प्रयोगका कारण स्वास्थ्य र सामाजिक बोझ अस्वीकार्यरूपमा उच्च बनेको छ ।’

सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा मदिराका कारण हुने मृत्युको उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लूएचओले बताएको छ।

Facebook Comments Box