गृहमन्त्रीको नियत जीबी राईलाई पक्राउ गर्ने छैन : प्रकाशशरण महत
काठमाडौँ : नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि कुरा बढी र काम भने उल्टो गर्ने बाटोमा हिँडेको आरोप लगाएका छन्।
आइतवार संसद भवनबाहिर सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन्। गृहमन्त्रीले अहिलेसम्म बोलेका कुराहरु कुनै पनि दिगो र सत्य नभएको दावीसमेत उनले गरे।
उनले जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भनेर गृहमन्त्रीले धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको आरोप लगाए।
उनले जीबी राईलाई पक्राउ गर्न गृहमन्त्री इच्छुक नदेखिएको बताउँदै पक्राउ गरी अनुसन्धान भए गृहमन्त्री आफैँ फस्न सक्ने डर रहेको बताए।
‘गृहमन्त्री कुरा धेरै गर्नुहुन्छ, काम उल्टो गर्नुहुन्छ। उहाँले अहिलेसम्मको बोल्नुभएको फेहरिस्तलाई केलाउने हो भने कुनैपनि दिगो हुने, सत्य कुरा छैन। उहाँले जीबी राईको बारेमा आकाश, पाताल गरेरै ल्याउँछौँ भन्नुभएको थियो‚’ उनले भने, ‘कुनै त्यस्तो ल्याउने नियत देखिँदैन। उहाँलाई आयो र उसले बयान दियो भने झनै अफ्ठ्यारोमा पर्नसक्छु भन्ने लागेको हुनसक्छ। कुरा बढी, काम उल्टो छ।’
सांसद महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि धेरै कुरा बोल्ने, विश्वास दिलाउने तर काम नगरेको आरोप लगाए।
