नर्वेले युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग गर्ने

नर्वेले युक्रेनलाई ऊर्जा पूर्वाधार मर्मत र बिजुली आपूर्ति सुरक्षित गर्न १० करोड ३० लाख डलर प्रदान गर्ने भएको छ।
सहयोग रकमबाट खार्किभ क्षेत्रका सात प्रसूति एकाइ र अपरेटिङ थिएटरमा सौर्य प्यानल जडान गर्ने जोनास गाहर स्टोरले बताए। यो जुन स्विट्जरल्याण्डमा युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिएको बेला जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। सन् २०२२ मा नर्वेले युक्रेनी ऊर्जा क्षेत्रलाई दुई अर्ब १० करोड क्रोनर र गत वर्ष एक अर्ब ९० करोड क्रोनर अनुदान उपलब्ध गराएको थियो।
स्क्यान्डिनेभियाली देश नर्वेले युक्रेनलाई सन् २०२३ देखि २०२७ को पाँच वर्षको अवधिका लागि ७५ अर्ब क्रोनर सैन्य र नागरिक सहायताको बाचा गरेको छ ।
‘रूसले पावर ग्रिडलाई निष्क्रिय बनाउन ठूलो आक्रमण गरिरहेको छ। तर युक्रेनी आवश्यक बिजुली आपूर्ति कायम गर्न दिनरात काम गरिरहेका छन्’, प्रधानमन्त्री जोनास गाहर स्टोरले भने।
नयाँ अनुमानअनुसार युक्रेनको विद्युत् उत्पादन क्षमताको ५० प्रतिशतभन्दा बढी नष्ट भएको सरकारले जनाएको छ। ‘हामी युक्रेनसँग कसरी यी कोष सबैभन्दा प्रभावकारीरूपमा प्रयोग गर्न सक्छ भन्ने बारे घनिष्ठ संवादमा छौँ’, उनले भने। रुसी आक्रमणबाट विशेषरूपमा प्रभावित खार्किभ क्षेत्रमा मर्मतका लागि १२ करोड क्रोनर खर्च गर्ने नर्वेले यसअघि नै बताइसकेको छ।