काठमाण्डौमा हिजो ३५ वर्षयताकै धेरै गर्मी, बाग्मतीको पूर्वी भेगसम्म मनसुनको प्रभाव

सेयर गर्नुहोस

काठमाण्डौ – काठमाण्डौमा उपत्यकामा हिजो यो वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको जेठ १७ गते काठमाण्डौको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।

मौसविद मीनकुमार अर्यालका अनुसार यसअघि २०४६ साल वैशाख २५ गते काठमाण्डौको तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो । ३५ वर्षपछि काठमाण्डौमा हिजो सबैभन्दा धेरै गर्मी भएको हो । ६ दिनअघि पूर्वबाट भित्रिएको मनसुन अझै मध्य र पश्चिम क्षेत्रसम्म नफैलिएकाले काठमाण्डौसहित पश्चिमी क्षेत्रमा गर्मी बढेको छ ।

लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । मनसुन पूर्वबाट बिस्तारै पश्चिमतिर सर्ने क्रममा रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् अर्यालका अनुसार कोशीसहित मधेश र बाग्मती प्रदेशको पूर्वी भेगसम्म मनसुनको प्रभाव देखिएको छ । गएराति काठमाण्डौसहित बाग्मती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको छ । अहिले देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Facebook Comments Box