नेपाल भारत बीचको सुमधुर सम्बन्धलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड

सेयर गर्नुहोस

नेपाल-भारत बीचको सम्बन्धलाई थप सुमधुर र समयसापेक्ष बनाउनुपर्नेमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन् ।
नेपाली जनसम्पर्क समिति भारतले ४८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा महरले देश दुई संस्कृति एक रहेकाले युग र समय सन्दर्भ संग सुहाउँदो सम्बन्धलाई परिमार्जन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । ‘नेपाल–भारत देश दुई भए पनि हामीबिच धामिर्क सांस्कृतिक एकता छ । परापूर्वकाल देखि रोटी बेटीको सम्बन्ध रही आएको छ । अब यो सम्बन्धलाई थप व्यवस्थित र समय सान्दर्भिक बनाउनु पर्ने आवश्यक भएको जिकिर गरे । नयाँ पुस्ताको चाहना अनुसार अगाडि बढाउनुपर्ने’ उनले भने ।
कहिले काँही कुनै कुरामा मनमुटाव देखिए पनि नेपाल–भारत बिच त्यो द्वन्द्व नभएर इसीजीको रेखा जस्तो भएको महरले टिप्पणी गरे । इसीजीको रेखा तलमाथि नभएमा मानिसको स्वास्थ्य नै जोखिममा पर्ने भएकाले जीवन्तताका लागि कहिलेकाहीँ सम्बन्धको रेखा पनि चलायमान हुनुपर्ने उनले बताए ।
‘हामीबिचमा सम्बन्धको रेखा चलायमान हुनु आवश्यक छ । तर, त्यो सकारात्मक दिशामा मात्र चलायमान हुनुपर्छ । जुन नेपाल–भारतबिच वर्षौंदेखि सकारात्मक दिशामा चलायमान हुँदै आएको छ,’ उनले स्पष्ट पारे । पहिले नेपालका युवाहरू उच्च शिक्षाका लागि भारत आउने भएपनि अब उनीहरूको ज्ञान सिपको समेत भारतले सदुपयोग गर्न सक्नुपर्ने महरले बताए ।
युवाहरूलाई आर्थिक गतिविधिसँग जोड्न सके दुई देशबिचको सम्बन्ध थप बलियो हुने उनको भनाइ छ । नेपालको समृद्धि विना भारत र चीनको समृद्धि पनि सम्भव नभएकाले यो कुरालाई भारतले अझ बलियो एवं गम्भीर भएर बुझ्नुपर्ने महरले बताए । ‘समृद्धिका लागि छिमेकी मुलुक पनि बलियो हुनुपर्छ । भारतसँग हाम्रो धेरै कुरा मिल्छ, खुला सीमा छ, दुवै देशका नागरिक बिच भाइचाराको सम्बन्ध छ । त्यसैले भारत सरकारले आफ्नै देशसँगै नेपालको समृद्धिमा पनि टेवा पुर्यउनुपर्छ । यसो भएमा दुई देशबिचको भावनात्मक सम्बन्ध थप बलियो हुनेछ,’ उनले भने ।
बिपी कोइरालाले ४७ वर्ष अगाडि विदेशमा रहेका नेपालीको सिप, विचार र क्षमतालाई राष्ट्र निर्माणमा लगाउनुपर्छ र उनीहरूको सहयोग लिएमा लोकतन्त्रको जग थप बलियो बनाउन सकिन्छ भन्ने सोचका साथ सम्पर्क समितिको स्थापना गरेको महरले स्मरण गरे । अहिले विश्वका विभिन्न ३७ देशमा सम्पर्क समिति रहेका भन्दै नेपालीहरू सम्पर्क समितिको माध्यमबाट अवैतनिक राजदूतका रूपमा नेपाल निर्माणमा भूमिका खेलिरहेको महरको भनाइ छ ।
जनसम्पर्क समितिबाट पार्टीमा र संसद्मा प्रतिनिधित्व गराउने कुरामा कांग्रेस भित्र छलफल भइरहेको महरको भनाइ थियो । उनले प्रवासमा रहेका नेपाली सँगसँगै रहेर कांग्रेस अगाडि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा जनसम्पर्क समितिका संस्थापक केएम रावल, युवा नेता सन्दीप राना लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box