९ असार २०८१, शनिबार

पोखरामा एक करोड भन्दा बढीको सामान चोरी गर्ने दुईजना पक्राउ

पर्वत : कास्कीको पोखरा महानगरपालिका–१७ घारीपाटनबाट एक करोड भन्दा बढी मूल्यका सामग्री चोरी गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीका अनुसार पोखरा महानगरपालिका-२२ घर भई हाल वडा नं. १३ मियापाटनमा बस्ने २१ वर्षीय नवीन नेपाली र गोरखा घर भई पोखरा-४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगर पक्राउ परेका हुन्।

उनीहरूले गत जेठ ११ गते राति पोखरा महानगरपालिका-१७ घारिपाटन स्थित पोखरा हाउजिङ नजिकै लक्ष्मी कान्त शर्माको घर र सोही घरमा डेरा गरी बस्दै आएका कृष्णजी पौडेलको कोठाको ढोका फुटाएर चोरी गरेका थिए। सुनका विभिन्न गरगहना गरेर ४२ तोला, मोबाइल, ल्यापटप, क्यामेरा तथा अन्य सामानसहित नगद तीन लाख ८० हजार गरी कुल एक करोड रुपैयाँभन्दा बढीका सामग्री चोरी भएको कास्की प्रहरीले बताएको छ।

सामानहरू चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामले संयुक्तरूपमा विशेष अनुसन्धान टोली खटाएका थिए। विभिन्न प्राविधिक विश्लेषण तथा सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दा चोरीमा संलग्न नेपाली र मगर पक्राउ परेका हुन्।

उनीहरूको साथबाट सुन र लाहा सहितको तौल गरी २४ तोला ८४ लाल, विभिन्न कम्पनीका २२ थान मोबाइल, विभिन्न कम्पनीका नौ थान क्यामेरा, विभिन्न कम्पनीका १५ थान ल्यापटप, दुई थान टी.भी, तामा तथा चाँदीका ४६ थान भाँडा र दुई थान कफी मेसिन बरामद भएको छ। यस्तै नगद रकम ११ हजार ५६८, विभिन्न कम्पनीका ११ थान घडी, दुई थान ड्रोन क्यामेरा, दुई थान रेडियो सेट वाकीटकी, चोरीमा प्रयोग हुने औजारहरू फलामको रड, पेन्चिस, हेक्सा ब्लेड, पिलास, तार काट्ने कटर, फलामको कुटो पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसन्धानको क्रममा उनीहरूले करिब दुई/तीन घण्टा घरहरूको निरन्तर अवलोकन गरेपछि बत्ती नबलेको मौका पारेर चोरी गर्ने गरेको पाइएको छ। उनीहरूले साँझको समयमा बाहिर निस्कनेहरूको घर तथा कोठामा चोरी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको छ। उनीहरू पेशेवर चोर रहेको र यसअघि पनि चोरी मुद्दामा पक्राउ तथा कारबाही भएको पाइएको छ। सुवास थापा मगरको नाममा २०७५ चैत १० मा जिल्ला प्रहरी कार्यालय कास्कीबाट चोरी मुद्दा चलेको थियो। नवीन नेपालीमाथि गत वैशाख १७ मा जिल्ला प्रहरी कार्यालय कास्कीबाटै चोरी मुद्दा चलेको थियो। उनी पटक पटक गरेर करिब ८ वर्ष कारागारमा जेल सजाय भुक्तान गरी पछिल्लो पटक करिब १० महिना अगाडी जिल्ला कारागार कास्कीबाट छुटेको देखिएको प्रहरीले बताएको छ।

यसअघि पोखराका विभिन्न स्थानमा भएका चोरीका घटनामा समेत उनीहरूको संलग्नता देखिएको छ। त्यसवेला उनीहरूले चोरी गरेका सामान समेत बरामद गरेको प्रहरीले जनाएको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट