कानूनबमोजिम नै गण्डकीमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हौँ : नेसपा

काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा) ले गण्डकी प्रदेश सरकारलाई कानूनबमोजिम विश्वासको मत दिएको दाबी गरेको छ। नेसपाका केन्द्रीय प्रवक्ता कृष्ण शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गरी ‘फ्लोर क्रस’ गरिएको प्रचारबाजी मात्र भएको दाबी गरेको छ।
सोमबार प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत माग्दा नेसपाका फणीन्द्र देवकोटा पक्षमा उभिएका थिए। यसलाई नेसपाले संविधानसम्मत भएको बताएको छ।
‘गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीले संविधान र कानूनले दिएको अधिकार प्रयोग गरी विश्वासको मत दिएको अवस्था हो’, विज्ञप्तिमा उल्लेख छ,‘नेपाल समाजवादी पार्टीले संविधानको मर्म, भावना र मौजुदा कानूनी व्यवस्था बमोजिम गरेको निर्णयलाई फ्लोर क्रस भनी गरिएको प्रचारबाजीबाट भ्रमित नहुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ।’
देवकोटाले पाण्डेलाई मत दिएसँगै माओवादी केन्द्रले आफ्नो चुनाव चिह्नबाट निर्वाचित भएकाले ‘फ्लोर क्रस’ गर्ने देवकोटालाई कारबाही गर्ने बताएको छ। देवकोटाको हकमा विश्वासको मतलाई आधार बनाएर अन्य दलले ह्विप जारी गरी कारबाही गर्न मिल्ने अवस्था नरहेको नेसपाको जिकिर छ।
नेसपाले देवकोटाले गोरखा २(१) मा उम्मेदवारी दर्ता गर्दा नै मनोनयन फाराममा नेपाल समाजवादी पार्टीको तर्फबाट उम्मेदवार भनेर जनाएको बताएको छ।