काठमाडौं : आईसीसी टी-२० विश्वकपमा भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानमाथि माथि ६ रनको रोमाञ्चक जित निकालेको छ।
लगातार दोस्रो पराजयसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना न्यून भएको छ।
पहिलो खेलमा अमेरिकाविरुद्ध हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था आएको हो। भारतले सबै खेल जितेको खण्डमा अमेरिकाको आयरल्याण्डविरुद्धको हारले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना जिवितै राख्ने छ।
जितपछि भारतको २ खेलमा ४ अंक भएको छ। अमेरिकाको पनि २ खेलमा ४ अंक छ। क्यानडाको २ खेलमा २ अंक रहेको छ भने पाकिस्तान २ खेलमा र आयरल्याण्ड १ खेलमा शून्य अंकमा छन्।
आइतबार राति न्युयोर्कमा भएको खेलमा भारतले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो । एक समय ७२/२ को अवस्थामा रहेको पाकिस्तानले अन्तिम आठ ओभरमा खेल गुमाउन पुग्यो।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए पनि जित भने दिलाउन सकेनन्। इमाद वासिमले १५ रन बनाए भने बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए।
भारतको जितमा जस्प्रित बुम्राहले ३ तथा हार्दिक पान्ड्याले २ विकेट लिए। अर्सदीप सिंह र अक्षर पटेलको नाममा समान १ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै ११९ रन जोडेको थियो। भारतका लागि रिशभ पन्तले ३१ बलमा ६ चौका सहित सर्वाधिक ४२ रन बनाएका थिए। यस्तै अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले ३-३ विकेट लिएका थिए भने मोहम्मद आमिरले २ विकेट लिए। १ विकेट शाहिन शाह अफ्रिदीको नाममा रह्यो।
गएराति नै भएको अर्को खेलमा स्कटल्याण्डकले ओमानलाई ७ विकेटले हरायो।
3