सहकारी र गिरिबन्धु टी-स्टेट प्रकरणमा एमाले-रास्वपा मिलेर जाने सहमति भएको गगनको आरोप

सेयर गर्नुहोस

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरिबन्धु टी-स्टेट प्रकरण नउठाउने सहमति भएको आरोप लगाएका छन्।

आइतवार पत्रकार सम्मेलन गरी उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्धु टी-स्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमति गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानबिन गर्न गठित समितिमा आफू नरहने बताएको तर्क पनि गरे।

‘अनि सरकारलाई अविश्वास गर्नेहरुले सरकारले बनाएर हुन्छ, समिति बनाउनु पर्छ भन्छ। यहाँ त सरकारको गृहमन्त्री नै यसमा समिति बनाउने भनिराख्नु भएको छ। म आज यहीँबाट भन्छु– बनाउने हो‚’ महामन्त्री थापाले भने, ‘आज उनले जुन जुन विषयमा समिति बनाउने भन्नुभएको छ‚ सबैमा समिति बनाए हुन्छ।’

सो विषयमा एमाले भएकाले गृहमन्त्री लामिछानेले आफू सो समितिमा नरहने बताएको महामन्त्री थापाले जिकिर गरे। उनले गृहमन्त्रीलाई सहकारी प्रकरणमा एमालेले साथ दिने हुनाले धेरै चिन्ता नभएको पनि बताए।

‘उहाँले आज के भन्नु भयो भने उहाँको बारेमा बनाएको समितिमा उहाँ बस्नु पर्दैन। हो, तपाई बस्नु नै पर्दैन। तपाईंको काम अब नेकपा एमालेले गरिदिन्छ‚’ उनले भने‚ ‘किनभने तपाईंहरुको बीचमा एउटा राम्रो समझदारी बनेकै छ। नेकपा एमालेले सहकारी नउठाउने, तपाईंहरुले गिरिबन्धु नउठाउने। त्यसैले त्यसको बारेमा धेरै चिन्ता भएन।’

महामन्त्री थापाले संसदीय समिति बनाएर विगतमा भएका सबै घोटालाको छानबिन गर्न आफूहरु तयार रहेको जवाफ पनि गृहमन्त्री लामिछानेलाई फर्काएका छन्।

 

Facebook Comments Box