७ जेष्ठ २०८१, सोमबार

३० हजार किलो चिनीसहित ट्रक नियन्त्रणमा

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–८, स्थित तिनकुने सीमा इलाकाबाट करिब ३० हजार किलो चिनीसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलका अनुसार गएको २९ वैशाखमा ५९५ बोरामा रहेको २९ हजार ७५० किलो चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिएको हो ।

बीआर ५० जी ९०५७ नम्बरको ट्रकमा लोड गरिएको चिनीलाई मकै र गहुँ भनेर भन्सार पास गराउन खोजेको र पछि विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरले ट्रकमा जाँच गर्दा मकै र गहुँले छोपीएको अवस्थामा उल्लेखित चिनी फेला परेको प्रहरीले जनाएको छ ।

१८ बोरामा रहेको ९९० किलो मकै, ९५ बोरामा रहेको पाँच हजार २७९ किलो गहुँ समेत बरामद गरिएको छ । बरामद चिनी, मकै, गहुँ र ट्रकसहितको भन्सार दाखिला मूल्य ४५ लाख २५ हजार ८६० रुपैयाँ कायम भएको प्रहरीको भनाइ छ । बरामद सामान तथा ट्रक आवश्यक कारबाहीको लागि सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

धेरै कमेन्ट गरिएका