काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले बनाएको प्रसारणलाइनबाट १२०० मेगावाट बिजुली लैजान भारतीय कम्पनी एनएचपीसी लिमिटेड सहमत भएको छ ।
पश्चिम सेती र सेती नदी-६ बाट उत्पादन हुने बिजुली ग्रीड कम्पनीले बनाएको प्रसारणलाइनमार्फत भारत लैजान तयार भएको हो। सोमबार राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र एनएचपीसीबीच द्धिपक्षीय समझदारी (एमओयु) भएको छ । एमओयुमा राष्ट्रिय प्रसारण कम्पनी प्रमुख कार्यकारी प्रमुख नेत्र ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायले हस्ताक्षर गरे।
यी दुबै आयोजनाको विकासका लागि एनएचपीसीसँग एमओयु भएको छ । पश्चिम सेती ७५० मेगावाट र सेती नदी-६ (एसआर-६) ४५० मेगावाट जडित क्षमता भएको आयोजना हो । सुरुमा एनएचपीसी लिमिटेडले डेडिकेटेड प्रसारणलाइन बनाएर बिजुली लैजाने योजनामा थियो । पछि आयोजना नजिकैबाट ग्रीड कम्पनीले प्रसारणलाइन बनाइरहेकाले त्यहीँबाट लैजान तयार भएको हो । ग्रीड कम्पनीले प्रस्ताव समेत गरेको थियो ।
सेती नदी-६ कर्णाली करिडोर ४०० केभी प्रसारणलाइनको बेतन सबस्टेसनमा जोडिनेछ भने पश्चिमसेती सेती करिडोर ४०० केभी प्रसारणलाइनको वनलेक सबस्टेसनमा जोडिनेछ । एनएचपीसीले दोधारा-बरेली ४०० केभी प्रसारणलाइनमार्फत भारत बिजुली लैजानेछ । यी दुवै प्रसारणलाइन प्रयोग गरेबापत कम्पनीले ह्विलिङ चार्ज तिर्नेछ ।
सतलज जलविद्युत निगम (एसजेभीएन) ले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । करिब एक वर्षमा उत्पादन गर्ने तयारीका साथ काम भइरहेको छ । यो आयोजनाबाट उत्पादन हुने बिजुली लैजान कम्पनीले आफैं डेडिकेटेड प्रसारणलाइन निर्माण गरिरहेको छ । डिंडिङ-ढल्केबर-बथनाहा ४०० केभी प्रसारणलाइनमार्फत बिजुली लैजानेछ ।
२०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी र पश्चिम सेती जलविद्युत् आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिने गरी सम्झौता भएको थियो । पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना हो । जसको लागत करिब २ खर्ब रुपैयाँ अनुमान गरिएको छ । सेती नदी-६ अछाम र डोटीमा निर्माण हुनेछ ।
एनएचपीसी लिमिटेडले सर्वेको अनुमति पाएको छ । दुई वर्षभित्र कम्पनीले विस्तृत अध्ययन प्रतिवेदन बुझाइसक्नुपर्नेछ ।
कार्यक्रममा ग्रीड कम्पनीका सीईओ नेत्र ज्ञवालीले एमओयु एउटा डकुमेन्ट मात्रै नभएर नेपालको जलविद्युत विकासका लागि दुई सरकारी कम्पनीको सहकार्य समेत भएको बताए । सेती करिडोरका लागि एक्जिम बैंकसँग छलफल भइरहेको बताए ।
कर्णाली करिडोर प्रसारणलाइन भारतीय कम्पनी कल्पतरु पावर ट्रान्समिसन लिमिटेडले निर्माणको जिम्मा पाएको छ । करिब साढे ७ अर्ब रुपैयाँमा पाएको ठेक्का ४८ महिनामा सक्नुपर्नेछ । २०७९ फागुनमा नै ठेक्का पाएको हो । यो प्रसारणलाइनले २२०० मेगावाट विद्युत प्रसारण गर्न सक्छ ।
यो प्रसारणलाइन कालिकोटको मान्माबाट सुरु भएर अछाम,सुर्खेत हुदै दोधारा पुग्नेछ । यो करिब ८० किलोमिटरको हुनेछ ।
सेती करिडोर प्रसारणलाइन अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । १८ अर्ब रुपैयाँ अनुमान गरिएको यो प्रसारणलाइन १५६ किलोमिटरको हुनेछ । चैनपुरदेखि डोटीको वनलेक हुँदै दोधारासम्म पुग्नेछ । यो प्रसारणलाइन अन्तर्गत चैनपुर र वनलेकमा सबस्टेसन समेत निर्माण हुनेछ । यो आयोजनामा लगानीका लागि भारतको एक्जिम बैंक इच्छुक देखिएको छ ।
एउटा आयोजना भारतीय कम्पनीले निर्माण गर्ने र अर्को आयोजनामा भारतीय लगानी हुने भएपछि प्रसारणलाइन प्रयोग गर्न भारत तयार भएको बुझिएको छ ।
एनएचपीसीले ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना संयुक्तरुपमा निर्माण गर्ने गरी पाएको छ । १०६ मेगावाटको अप्पर अरुण र १९०२ मेगावाटको मुगु कर्णाली समेत विकास गर्न मागेको छ । सरकारले कुनै निर्णय भने गरिसकेको छैन ।
3