७ जेष्ठ २०८१, सोमबार

सार्थकता पाउँदै कांग्रेसको अडान, रविमाथि संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडानले सार्थकता पाउने भएको छ। सहकारी ठगीमा जोडिएका रविमाथि छानबिन समिति नबनेसम्म संसद अगाडि नबढ्ने देखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक भएका हुन्। प्रचण्ड अघिल्लो अधिवेशनका बेला रविको बचाउ गर्दै आएका थिए।

तर, रविकै कारण बजेट अधिवेशन प्रभावित हुने भएपछि उनी झस्किएका हुन्। गत शुक्रबार बोलाइएको पहिलो बैठकमा यही कारण कांग्रेसले संसद नै अवरुद्ध गरेको थियो।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेताहरुबीच छलफल नै भएको छ। प्रधानमन्त्री प्रचण्ड सहकारी प्रकरणको अनुसन्धान समिति बनाएर गर्न सकारात्मक भएका हुन्।

सञ्चारकर्मीसँगको कुराकानीमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका छौँ, संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्ना कुरा राखेका छौँ। प्रधानमन्त्रीज्युसँग यो बारेमा कुराकानी भयो। हामीले आफ्ना कुरा राखेका छौँ। प्रधानमन्त्रीजीले सकारात्मक ढंगले लिनुभएको छ। सकारात्मक कुरा नै छ। हामीले हाम्रो कुरालाई यथावत राखेका छौँ। प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ।’

कांग्रेस संसदीय कार्यसमितिको बैठक सोमबार दिउँसो १ बजे र संसदीय दलको बैठक २ बजे बस्नेछ । त्यहाँबाट निर्णय लिइने उनले बताए।

धेरै कमेन्ट गरिएका