१९ बैशाख २०८१, बुधबार

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन बन्ने भएको छ ।

भारत सरकारको सहयोगमा उक्त भवन बन्न लागेको हो । बिहीबार एक कार्यक्रमबिच शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामी र भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाले नेपाल–भारत विकास सहकार्य अन्तर्गत बन्न लागेको विद्यालय भवनको शिलान्यास गरेका छन् ।
भारतीय दूतावासका अनुसार भवनको लागत २ करोड ७३ लाख रुपैयाँ रहेको छ । यो परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण दृष्टान्तको रूपमा रहेको दूतावासले जनाएको छ ।

भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइनेछ र नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

कार्यक्रममा बोल्दै शैल्यशिखर नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।
उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट